न्यूयोर्कमा ट्रकले ठक्कर दिएर आठ जनाको हत्या गर्नेलाई आतंकवादको अभियोग
काठमाडौं, कात्तिक १६ । अमेरिकी अभियोजनकर्ताहरुले न्यूयोर्कमा ट्रकले ठक्कर दिएर ८ जनाको हत्या गर्ने व्यक्तिलाई आतंकवादीको अभियोग लगाएका छन् ।
उज्वेकिस्तानबाट आएका २९ वर्षीय आप्रवासी सेफुलो साइपोभलाई अभियोजनकर्ताहरुले आतंकवादको आरोप लगाएका हुन् ।
उनीमाथि जानाजान ट्रक जोताएको र विद्रोही समूह इस्लामिक स्टेटलाई सामग्रीहरु उपलब्ध गराएको आरोप लगाइएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार साइपोभले आफूले गरेको हमलाबारे राम्रो महसुस गरेको र मानिसहरु धेरै हुन्छन् भनेरै आक्रमणका लागि ह्यालोइनको दिन रोजेको बताएका छन् ।
उनले आफूले इस्लामिक स्टेटको झण्डा ट्रकमा फहराउन चाहे पनि आफूमाथि अरुको ध्यान केन्द्रित नहोस् भनेर त्यसो नगरेको बताएका छन् ।
उनले आक्रमणको योजना दुई महिनाअघि नै बनाएको बताइएको छ ।
संघीय जाँच ब्यूरो एफबीआईले यही घटनासँग सम्बन्धित प्रश्नहरु गर्न खोजिरहेका उज्बेकिस्तानकै अर्का व्यक्तिको पनि ठेगाना आफूहरुले पत्ता लगाएको बताएका छन् ।
न्यूयोर्कको लोअर म्यानह्याटनमा साइकल लेन र फुटपाथमा ट्रक जोताएर आक्रमण गरेलगत्तै सेफुलो साइपोभलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको थियो ।
आक्रमणमा ८ जनाको मृत्यु भएको थियो । घटनामा अन्य १२ जना घाइते भएका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कको जस्तो हमला गर्ने व्यक्तिलाई छिटो र कडा कारवाही गर्न आह्वान गरेका छन् ।
उनले चिट्ठा मार्फत विशेष अमेरीकी प्रवेशाज्ञा, ग्रीन कार्ड, प्रदान गरिने डाइभरसीटी भिसा प्रणाली रद्द गर्न पनि आह्वान गरेका छन् । (एजेन्सी)