गच्छादारले कांग्रेसकाे पुच्छर समाते पछि साना दलकाे विचल्ली
“
असोज ३०, काठमाडौँ । संसद्मा प्रतिनिधित्व गर्ने चार साना दललाई भित्र्याएर लोकतान्त्रिक फोरम बनाएका विजय गच्छदार अचानक काँग्रेसमा बिलय भएपछि एकीकरणमा गएकाहरुको बिल्लिबाठ भएको छ ।
काँग्रेसमा जान नचाहनेहरुले अलग्गै बैठक बसेर लोकतान्त्रिक फोरम पुनर्गठन गरेका छन् । बिघटित संसद्मा रहेका दलमध्ये जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीका निवर्तमान सांसद एकतामा सहभागी छैनन् । उनीहरूले आफूहरू काँग्रेस हुन नसक्ने भन्दै लोकतान्त्रिक फोरम पुनर्गठन गरेका हुन् ।
सोमवार बिहान एकीकरणमा असहमतहरुको बैठकले कानुनी लडाई लड्ने निर्णय गरेको सह अध्यक्ष तथा निवर्तमान सांसद शिवलाल थापाले बताए । बैठकमा सह अध्यक्षहरु यशोदा लामा, महेश कोर्मोचा, भानुराम थारु, सोनाम छिरिङ शेर्पा लगायत रहेका थिए ।
निवर्तमान सांसद लामाले आफू एकीकरणमा सहभागी नभएको बताइन् । उनले अब राजनीतिबाटै दिक्क लागेको प्रतिक्रिया दिइन् । ‘म जस्ताले राजनीति गर्ने होइन रहेछ,अब थाकेँ’ लामाले भनिन् ।
एकीकरणमा असहमत भएकाहरुले लोकतान्त्रिक फोरमको नमस्कार गरेको हात चुनाव चिन्ह लिएर चुनाव लड्न कानुनी परामर्श गरेका छन् । उनीहरूले समानुपातिकको लिष्ट पनि निर्वाचन आयोगमा बुझाएका छन् । आफूहरुसँग बहुमत केन्द्रीय सदस्य र पदाधिकारी रहेकाले पार्टीको मान्यता पाउने थापाले दाबी समेत गरेका छन् ।
शिवलाल थापाले एकीकरण गरेपछि अलपत्र परेकी निवर्तमान सांसद सिमाकुमारी विक भने एमाले प्रवेश गर्ने भएकी छन् ।
“