अपांगता भएका एक व्यक्ति सात जनाकाे परिवार पाल्दै
“
असाेज ३०, माेरङ । मोरङको सुनबर्सी नगरपालिकाको झुङ्गी टोल चोक नजिकै अपांगता भएका एक व्यक्ति परिवार पाल्न सङ्घर्ष गरिरहेका छन् । दुईटै खुट्टा पोलियोका कारण नचल्ने भएका मानिक चन्दन ऋषिदेवले सातजनाको परिवार पाल्दै आएका छन् । पाँच वर्षको हुँदा सामान्य खुट्टा दुखेको समस्याबाट पीडित भएका ऋषिदेव आर्थिक अवस्था निकै कमजोर भएका कारण समयमै उपचार गर्न नसकेकाले अहिलेसम्म दुःख भोग्नुपरेको ऋषिदेवले बताउँछन् ।
चार दशक अगाडि पोलियोका कारण दुईटै खुट्टा नचल्ने ऋषिदेवले आमा पोसियादेवी ऋषिदेव, बुबा धनाई ऋषिदेव, श्रीमती ललिता ऋषिदेव र दुई छोरी, एक छोरालाई पाल्दै आएका छन् । पाँचवर्ष अगाडि साइकल मर्मत सेन्टर खोलेर परिवार पालिरहेका ऋषिदेवलाई साइकल मर्मत सेन्टर खोल्न लुथरन सामुदायिक कल्याण समाजले रु चार हजार सहयोग गरेको थियो ।
वार्षिक रु पाँच हजार भाडामा लिएर दश धुर जग्गामा घर बनाएर उनले आफ्नो परिवारको टाउको ओताइरहेका छन् । साइकल मर्मतबाट रु ३०० देखि रु ४०० सम्म कमाइ हुने भन्दै ऋषिदेवले एकजनाको कमाइले सातजनाको परिवार पाल्न मुस्किल भइरहेको दुःखेसो पाेखे ।
“