महामारीको रुपमा फैलिँदै कोरोना भाइरस, १३ देशमा भेटिए संक्रमित
माघ १२, काठमाडौं । कोरोना भाइरसले महामारीको रुप लिएको छ । चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको कोरोना भाइरस अहिले १३ वटा देशसम्म पुगेको चिनियाँ अधिकारीहरुले बताएको बीबीसी जनाएको छ ।
हाल यो नयाँ भाइरस संकटको रुपमा विश्वमा देखा परेको छ । हालसम्म चीनमा उक्त भाइरसबाट संक्रमितको संख्या झन्डै २ हजार पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
चीनको स्वास्थ्यमन्त्री मा साओवीले यस भाइरसको संक्रमणबाट ५६ जनाको मृत्यु भएको आइतबार जानकारी दिएका छन्।
सो भाइरस हाल विश्वका १३ देशमा देखा परेको छ । सीएनएनका अनुसार चीनबाहेक अन्य देशमा ४६ जनामा कोरोना भाइरस देखिएको छ।
यस्तो छ देश र संक्रमितको संख्या ः
१. हङकङः ६
२. मकाउः ५
३. थाइल्याण्डः ५
४. अस्ट्रेलियाः ४
५. मलेसियाः ४
६. सिंगापुरः ४
७. फ्रान्सः ३
८. जापानः ३
९. दक्षिण कोरियाः ३
१०. ताइवानः ३
११. अमेरिकाः ३
१२. भियतनामः २
१३. नेपाल १
कोरोना भाइरस निमोनियाजस्तै भएको बताइएको छ। यस भाइरस शरीरमा प्रवेश गरेपछि सास फेर्न गाह्रो हुन्छ। चिकित्सकहरुले साबुन पानीले हात धुन, मास्क लगाएर हिँड्न तथा मासुजन्य पदार्थ प्रयोग नगर्न सुझाव दिएका छन्।
कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरसहरूको एउटा सदस्य हो। एजेन्सी