फूलमाया कन्दङ्वाको परिवारलाई बिमाको १४ लाख प्रदान ।।
“
भरतराज शर्मा(गोपाल), धरान । गत भदौ ४ गते उच्च रक्तचापले दुबईमा मृत्यु भएको बराह नगरपालिका–८ की फूलमाया कन्दङ्वाको परिवारले उनको जीवन बिमा गरे बापतको नगद १४ लाख रुपैयाँ भुक्तानी पाएको छ । सूर्य लाइफ इन्सुरेन्स कम्पनीले आज धरानमा एक कार्यक्रम गरी मृतक परिवारलाई मृत्यु दाबी भुक्तानी बापत नगद १४ लाखको चेक हस्तान्तरण गरेको हो । कम्पनीको धरानस्थित शाखा कार्यालयमा मृतकका श्रीमान् देवेन्द्र कन्दङ्वा सहित उनका दुई छोरा र एक छोरीलाई सो चेक हस्तान्तरण गरिएको थियो ।
मितेरी विकास बैङ्कका सिइओ तुलसीप्रसाद बस्ती र शाखा प्रमुख थिर लोचन श्रेष्ठले उनीहरूलाई संयुक्त रूपमा चेक प्रदान गरेका थिए । सूर्य लाइफ इन्सुरेन्सका शाखा प्रमुख श्रेष्ठका अनुसार मृतक परिवारले वैदेशिक रोजगार जीवन बिमा गरेबापत कन्दङ्वा परिवारले १४ लाख प्राप्त गरेको बताए । वैदेशिक रोजगारीमा जानेले यो म्यादी जीवन बिमा गरे धेरै लाभ पुग्ने उनको भनाइ छ ।
मृतक कन्दङ्वाले पनि गत वर्ष दुबई जानुअघि मात्र वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गरेकी थिइन् । २ वर्ष ६ महिनाका लागि १० लाखको बिमा गरेकी उनले त्यसबापत मात्र ४ हजार २ सय ७८ रुपैयाँ तिर्नुपरेको थियो । मृतक कन्दङ्वाको परिवारले बिमांकबापत १० लाख, किरिया खर्चबापत १ लाख, आय नोक्सानीबापत २ लाख र शव ल्याउँदाको खर्चबापत १ लाख गरी कूल १४ लाख प्राप्त गरेको श्रेष्ठले बताए ।
“