चिनी मिलले रकम नदिएपछि सुनसरी र मोरङका उखु किसान आन्दोलित
“
कात्तिक ९, सुनसरी । उखु बिक्री गरेको सबै रकम नदिएको भन्दै सुनसरी र मोरङका करिब पाँच हजार कृषक आन्दोलित भएका छन् । सुनसरीको बर्जु गाउपालिका–५ मा अवस्थित इस्टर्न सुगर मिलले आर्थिक वर्ष २०७३।७४ को कृषकले बेचेको करोडौं रुपैयाँ भुक्तानी नदिएपछि किसानहरू आन्दोलित भएका हुन् ।
उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए । सुनसरी र मोरङबाट आठ लाख २८ हजार ६ सय ४१ क्विन्टल उखु खरिद गरेको सुगर मिलले ४१ करोड दिनुपर्नेमा २३ करोड रुपैयाँ मात्र दिएको र बाँकी १८ करोड रुपैयाँ दिन बाँकी रहेको किसानहरूले बताएका छन् ।
दसैँ र तिहार सम्ममा सबै पूजी चुक्ता गर्ने भनेर सम्झौता भए पनि अहिलेसम्म मिलले कृषकको उखुको मूल्य नदिएकाले आन्दोलित गर्नुपरेको उखु कृषक सङ्घर्ष समितिका सचिव कमलप्रसाद कामतको भनाइ छ । गत वर्ष सुनसरी, मोरङका १० हजार कृषकले उखुखेती गरेका थिए । यो वर्ष सुनसरी, मोरङका सात हजार कृषकले सात हजार बिघा जमिनमा उखुखेती गरेका छन् । मिलले समयमा भुक्तानी नदिदा उखु कृषक पलायन हुन थालेको कामतले बताए ।
सुनसरीको बर्जु गाउँपालिकामा १८ बिघामा उखुखेती गरेका रमेश कामत मिलले समयमा भुक्तानी नगर्दा जीविकोपार्जनमा समस्या भएको बताए । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले कृषकको समस्या समाधानमा पहल गर्ने बताए ।
“