बराहतालमा धौलागिरि हिमालको प्रतिविम्ब
“
धु्रबसागर शर्मा, म्याग्दी । धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालीका–१, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ । साविक निस्कोट गाविस— ९ मा पर्ने तथा निस्कोट गाउँको शिरानमा रहेको बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धनको पर्खाइमा रहेको हो ।
करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ । समुद्री सतहदेखि झन्डै दुई हजार २०० मिटरको उचाइमा अवस्थित रहेको ताल र तालको आसपासबाट विभिन्न हिमशृंखला देखिन्छ । त्यहाँबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छे«, मानापाथीलगायतका आधा दर्जन बढी मनोरम हिमशृंखलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । तालनजिकै एउटा तामाको घैंटो पनि रहेको छ ।
घना वनजंगल र केही गाउँवस्तीको बिचमा रहेको तालमा वनजंगल र हिमालको प्रतिविम्ब ९छाँया० निक्कै आकर्षक अनि मनमोहक देखिन्छ । स्थानीयका अनुसार ताल झन्डै २० मिटरभन्दा बढी गहिरो छ । पर्यटकीय महत्त्व बोकेको बराहताल संरक्षणका लागि यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीमा पुग्न पदमार्ग निर्माण गरेको जनाएको छ ।
यसै गरी चालु आवमा निस्कोट गाउँदेखि बराहतालसम्म पुग्नका लागि पर्यटन पदमार्ग निर्माण तथा तालको संरक्षणलगायत आवश्यक कार्यक्रम गर्न रु पाँच लाख बजेट विनियोजन गरिएको मालीका–१ निस्कोटका वडा सचिव छविलाल उपाध्यायले बताए । वनजंगलको बिच भागमा रहेको ताल भए पनि त्यसमा कुनै पनि पातपतिङ्गर नभएको र बिहान सबैरै दुई वटा जलहाँस जलक्रिडा गर्न आउने तालको विशेषता भएको सचिव उपाध्यायको भनाइ छ । तालको उचित संरक्षण र विकास तथा प्रचारप्रसार गर्न सकेको खण्डमा निस्कोट गाउँमा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकसमेत भित्र्याउन सकिने प्रशस्तै सम्भावना रहेको स्थानीय बताउँछन् ।
बागलुङको ताराखोला धुरी जोडिने पर्यटन रुटमा पर्ने तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने वडा सदस्य दिलकुमार पुनले जानकारी दिए । उनका अनुसार तालको विकास सँगसँगै निस्कोट गाउँको शिरमा भ्यु–टावरको निर्माण गर्न सकिने सम्भावना पनि रहेको छ । त्यहाँबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक र मनमोहक दृश्य देखिने हुँदा भ्युटावर बनाउनुपर्ने उनको भनाइ छ । रासस
“