निर्वाचनमा काँग्रेसलाई विजयी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने : प्रम

कात्तिक १०, काठमाडाैं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विजयी गराउन एकतावद्ध भएर चुनावी अभियानमा जुट्न काँग्रेस नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । शुक्रवार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसकाे अवसरमा अायाेजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाम गठबन्धनविरुद्ध डटेर मुकाबला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि तरुण दलका नेता, कार्यकर्तालाई सचेत गराए । प्रधानमन्त्री देउवाले वामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहनुपर्नेमा पनि जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि एकतावद्ध भएर अघि बढ्न तरुण दलका नेता, कार्यकर्तालाई सचेत गराए । उनले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले संविधानको मूल मर्म माथि नै प्रहार गरेकाले संविधानको रक्षा गर्न आगामी निर्वाचनमा काँग्रेस विजयी हुनुको विकल्प नरहेको दाबी समेत गरे ।

काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्न सक्षम हुने दाबी गरे । उनले वामपन्थी गठबन्धनलाई पराजित गर्न पार्टीका नेता कार्यकर्तालाई एकतावद्ध भएर चुनावी अभियानमा लाग्न पनि निर्देशन दिएका थिए । महामन्त्री कोइरालाले कम्युनिष्टहरुको एकताले लोकतन्त्रमाथि चुनौती थपिएपनि त्यसलाई पराजित गर्न काँग्रेस सफल हुने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *