नाडा अटो शो २०१९ मा टाटा एच फाइभ सार्वजनिक
भाद्र १०, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ सार्वजनिक गरेको हो ।
भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मुल्य ५६ लाख ५५ हजार तोकिएको छ ।
नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको थियो । बुकिङ्ग खुल्ला भएयता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ ।
सो अवसरमा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने बताए । नेपाली एसयूभीपारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मनपराउने उनको दावि थियो ।
क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।
नेपाली बजारमा टाटा एच फाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एच फाइभ सर्वोत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुनेमा विश्वास व्यक्त गरे ।