डीपीएलमा काठमाडौंको दोस्रो जित, महेन्द्रनगरको लगातार दोस्रो हार

फागुन १, धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ । 

फाप्ला क्रिकेट मैदानमा बुधबार भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराउँदै काठमाडौंले लगातार दोस्रो जित हात पारेको हो । काठमाडौंले पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराएको थियो । 

काठमाडौंले दिएको १३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । 

null

महेन्द्रनगरका लागि अमर सिंह रौटेलाले अविजित २८ रन जोडे । यस्तै कप्तान शरद भेषवाकरले २३ रन, आरिफ शेखले १८, आनन्द सुब्रमन्यु १५ र रोहित कुमार पौडेलले १० रन जोडे । 

काठमाडौंका राशिद खानले ३ र अंकित दबासले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३४ रन बनाएको थियो । काठमाडौंको उच्च स्कोरमा अंकित दबासले ६५ रनको अर्धशतकीय इनिङस खेले । उनले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । 

यस्तै योगेन्द्र सिंह कार्कीले २२ रन, कप्तान ज्ञानेन्द्र मल्लले १४, महेबुब आलमले १३ रन जोड्दा सोनु तामाङ र गौरव तमोर १–१ रनमा पेभेलियन फर्किए भने कुमार साहले ६ रन बनाए । 

महेन्द्रनगरका अमर सिंह रौटेलाले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान १–१ विकेट लिए । 

जितसंगै २ खेलबाट ४ अंक जोडेको काठमाडौं लिगको दोस्रो स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार व्यहोरेको महेन्द्रनगर पाँचौ स्थानमा छ । पहिलो खेलमा महेन्द्रनगर रुपन्देही च्यालेन्जर्ससंग २ रनले पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *