अमेरिकाले बनायो कोरोना जाँच्ने किट, ५ मिनेटमै नतिजा
PHOTO : Abbott Laboratories
चैत्र १७, काठमाडौं । विश्वकै प्रख्यात फर्मा तथा हेल्थ केयर कम्पनी एबटले कोरोना भाइरस (कोभिड १९) को संक्रमण जाँच्ने किट उत्पादन गर्न सुरु गरेको छ ।
अमेरिकाको संघीय फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले उक्त कम्पनीलाई कोरोना संक्रमणको परीक्षणको विशेष पोर्टेबल किट उत्पादनको अनुमति दिएसँगै कम्पनीले उत्पादन थालेको हो ।
‘आइडी नाउ’ नाम दिइएको उक्त किटले परीक्षण गरेको पाँच मिनेटमा संक्रमणको नतिजा समेत दिने बताइएको छ । यदि संक्रमण नदेखिएको अवस्थामा भने नतिजा १३ मिनेटमा देखाउँछ ।
‘कोरोना संक्रमण परीक्षण विश्वव्यापी रुपमा सहज बनाउने हिसाबले काम गरिरहेका छौं। त्यसैले दिनरात नभनी सक्दो धेरै उत्पादनमा जोड दिएका छौं’, एबटको आधिकारिक वेबसाइटमा लेखिएको छ ।
उक्त किटले कोरोनाविरुद्ध लड्न ठुलो मद्दत मिल्ने र उपचारमा ढिलासुस्ती नुहने एबटका चिफ अपरेटिङ अफिसर रोबर्ट बी फोर्ड बताउँछन् ।
एबटले बनाउँदै गरेको किटले एक दिनमा ५० हजार जनामा कोरोना भए–नभएको जाँच गर्नसक्ने प्रवक्ताले बताएका छन्। आउँदो सातासम्ममा अमेरिकाका अति आवश्यक ठाउँहरुमा यस किटद्वारा कोरोना जाँच हुने जनाइएको छ।
ऐबर्टका प्रवक्ताले बढीभन्दा बढी उत्पादन गरेर विश्वभर निर्यात गरिने बताएका छन्। यद्यपि अहिले यो अमेरिकामा मात्र उपलब्ध छ।