नेपालले आज युएईसँग पहिलो टी-२० सिरिज खेल्दै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो टी-२० सिरिज खेल्दैछ । 

एकदिवसीय र टी-२० सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले पहिलो टी-२० खेल्न लागेको हो । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो २:४५ बजे सुरु हुनेछ ।  

घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपाल टी-२० सिरिज समेत जित्ने लक्ष्यमा रहेको छ । सोमबार युएईलाई ४ विकेटले हराएर नेपालले ३ खेलको एकदिवसीय सिरिज २-१ ले जित्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हात पारेको थियो । 

null

घरेलु टोलीविरुद्धको पहिलो टी-२० मा नेपाल अर्को इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ । घरेलु टोलीसंगको सिरिज जिते नेपालले पहिलो पटक नै टी-२० अन्तर्राष्ट्रिय सिरिज समेत आफ्नो नाममा लेखाउनेछ । टी-२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी-२० सिरिज जित्न सकेको छैन । तर, यसपटक नेपालले अर्को इतिहास रच्ने मौका हुनेछ । 

युएईविरुद्धको एकदिवसीय सिरिजले हौसिएको नेपाललाई जित हात पार्न कठिन भने रहेको छ । तर, खेलाडीहरु पछिल्लो समय टी-२० क्रिकेटमा भिजेको कारण नेपाललाई आफ्नो लक्ष्य प्राप्ति खासै समस्या हुने छैन । 

नेपालमा आयोजना हुने पोखरा प्रिमियर लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिगको कारण खेलाडीहरु टी-२० मा अभ्यस्त रहेका छन् । 

नेपालले अहिलेसम्म युएईविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छैन । अन्य प्रतियोगिता र अभ्यास खेलमा भने नेपालले युएईसंग प्रतिस्पर्धा गरिसकेको छ । 

नेपालले हालसम्म दुई टी-२० अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । तर, सिरिज जित्न सकेको छैन । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी-२० विश्वकप खेलेको नेपालले त्यहि वर्ष हङकङसंग श्रीलंकामा पहिलो पटक ५ खेलको सिरिज खेलेको थियो । 

तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले पराजित भएको थियो । 

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी-२० सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज ३-१ ले गुमाएको थियो । 

त्यस्तै गत वर्ष नेपालले मेरिलेबन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्डसंग त्रिकोणात्मक सिरीज खेलेको थियो । इंग्ल्यान्डको लर्ड्समा भएको उक्त सिरिजमा नेपाल र नेदरल्याण्डबीचको खेलले अन्तराष्ट्रिय मान्यता पाएको थियो । तर, उक्त खेल वर्षाको कारण रद्द भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *