राष्ट्रिय हित र आवश्यकताका आधारमा चीनसँग सहकार्य गर्न सरकारलाई विज्ञहरुको सुझाव

असोज २३, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

असोज  २५ र २६ गते हुने चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल राखेका प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता जनाए । 

नेपाल र चीनबीच लामो समयदेखि असल र प्रगाढ छिमेक सम्बन्ध रहिआएको भन्दै प्रधानमन्त्री ओलीले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा र्पुयाउने विश्वास व्यक्त गरेको छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाका प्रवक्ता क्षेष्ठका अनुसार प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि लगानीको ढाँचाबारेमा समेत छलफल गरिने छ । 

‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छाैं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहन्छौँ,’ प्रधानमन्त्रीको भनाई उध्दृत गर्दै श्रेष्ठले भने, ‘चीनसँग सडक र पूर्वाधारमा कनेक्टिभिटीका विषयमा मुख्य छलफल हुने छ, किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नति आदि विषययमा चीनसँग वार्ता हुने र विस्तृत तयारी नेपाल सरकारले गर्ने छ ।’ 

छलफलमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति सीको भ्रमण हुनु खुशीको विषय भएको भन्दै राष्ट्रिय हित र आवश्यकताका आधारमा तयारीका साथ चीनसँग सहकार्य गर्न सुझाव दिइएको बताए । 

‘हामी नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, ‘बेल्ट एण्ड रोड’ इनिसियटिभमा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेका छौं,’ महतले भने, ‘ऋण लिएर रेलजस्ता ठूला आयोजना भने हतारमा शुरु नगर्न ध्यानाकर्षण गराएका छौं ।’ महतले नेपालको विदेश नीतिमा कुनै अन्योल हुने खालको वातावरण सिर्जना नगर्न पनि सरकारको ध्यानाकर्षण गरेको बताए । 

करीब चार घण्टा चलेको छलफलमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे ब्रिफिङ गरेका थिए । सहभागी नेता एवं विज्ञले भने लामो समयपछि चिनिबाट राष्ट्रपतिस्तरको भ्रमण हुन लागेको भन्दै मुलुकको हित र आवश्यकता बाहिर गएर सन्धिसम्झौता नगर्न सुझाव दिएका थिए । 

छलफलमा पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं (नेकपा) नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भए । छलफलमा परराष्ट्र तथा आर्थिक मामिलाका विज्ञहरु तथा पूर्व परराष्ट्र मन्त्रीहरुलाई समेत डाकिएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *