रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, चार जनाको मृत्यु
“
कोक्स बजार, बङ्गलादेश । अत्याधिक यात्रु चढेको डुङ्गा दुर्घटना हुँदा बङ्गलादेशमा मङ्गलवार कम्तीमा चारको मृत्यु भएको छ । म्यानमारबाट भागेर शरणार्थी हुन पुगेका शरणार्थीहरु चडेको डुङ्गा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
खराब मौसमका कारण शाम्लापुर गाउँ नजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरूले जनाएका छन् । शाम्लापुर गाउँ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौँ रोहिङ्गा शरणार्थीहरु बसोबास गर्दै आइरहेको गाउँ हो । गत अगस्तदेखि म्यानमारबाट लाखौँ शरणार्थीहरु डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आईपुगेका छन् ।
“सानो डुङ्गामा ३३ जना चढेका थिए, खराब मौसम र समुद्रको उच्च तरङ्गका कारण दुर्घटना भएको हो,” एक जना स्थानीय प्रहरी प्रमुख अबुल खैरले एएफपीसँग भन्नुभयो ।
उहाँले दुर्घटना भएलगत्तै उद्धार गर्न जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अरू ६ जनालाई उद्धार गरेर नजिकैको अस्पतालमा गम्भीर अवस्थामा लगिएकोमा थप तीन जनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार पिडितहरु सबै जना म्यानमारको बुथिडाउङ जिल्लाबाट भागेर आएका रोहिङ्गा शरणार्थीहरु हुन् ।
म्यानमारको राखिने राज्यबाट भाग्नेहरुको सङ्ख्या गत अगस्त २५ देखि अहिलेसम्म ६ लाख पुगेको छ । उनीहरू मध्ये अधिकांश स्थलमार्ग हुँदै छिमेकीदेखि बङ्गलादेश आएका छन् भने उनीहरू बसेको शिविरहरुमा हिंसाका कारण बिरामी र घाइतेहरु धेरै रहेका छन् ।
गत अगस्तदेखि अहिले सम्म समून्द्रि मार्गमा २०० भन्दा बढी डुङ्गा दुर्घटना भएको छ । संयुक्त राष्ट्रसंघले म्यानमारको राखिन राज्यमा हिंसा सुरुभए यता गत अगस्तदेखि अहिलेसम्म छ लाख पाँच हजार रोहिङ्गा शरणार्थीहरु बङ्गलादेश आईपुगेका बताएको छ । रासस
“