निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची आज सार्वजनिक गर्दै
“
काठमाडौं, कात्तिक १७ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ बुझाएको बन्दसूची निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ ।
आज सार्वजनिक गरिएका सूचीमध्येबाट प्रदेश र प्रतिनिधिसभाका समानुपातिक तर्फका ३ सय ३० जना सदस्य निर्वाचित हुनेछन् । गत असोज २९ गते दलहरुले बुझाएका सूचीका त्रुटी सच्याउँदै निर्वाचन अधिकृतको कार्यालयले आज साँझसम्म सूची सार्वजनिक गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
प्रवक्ता ढकालका अनुसार समानुपातिकतर्फ आयोगमा प्रतिनिधिसभा तर्फ ४९ र प्रदेश सभातर्फ ५५ दलले बन्दसूची बुझाएका थिए । अधिकांश दलले बुझाएको बन्दसूचीमा त्रुटी भएपछि आयोगले सुधार्न कार्तिक १२ गते सम्मको म्याद दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र सातै प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन् ।
“