‘सरकार, राष्ट्रघाती षडयन्त्रमा सहभागी भएको छैन भने सहमतिकाे दोस्रो बुँदा तत्काल सच्याउ’

 

फागुन २९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सिके राउतबीचको सम्झौता स्वागत योग्य भएको प्रतिक्रिया दिएको छ । 

नेपाली कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले फागुन २४ गते सरकार–सिके राउतबीच भएको सम्झौताले पृथकतावादी बाटोमा हिँडेका व्यक्ति र समूहलाई अखण्डता स्वीकारेर मूलधारमा आउन सहमत गराएको भन्दै सरकारको यो कदम स्वागत योग्य भएको बताएका हुन् । 

null

पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सम्झौताको पहिलो बुँदा स्वागत योग्य छ । तर २ नम्बर बुँदामा उल्लेख गरिएको ‘‘असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत’’ भन्ने पंक्तिको साझा व्याख्या सत्ता पक्ष र गठबन्धन पक्षले मुलुक समक्ष प्रस्तुत गर्नुपर्छ ।’ 

‘जनमतमा आधारित लोकतान्त्रिक विधि’ को गहिरो नभई सामान्य व्याख्या पनि जनमत संग्रह हो भनेर बुझिने भन्दै उनले यसलाई स्पष्ट पार्नुपर्ने धारणा राखे । राष्ट्रघाती षडयन्त्रमा सहभागी भएको छैन भने सरकारले तत्काल २ नम्बर बुँदा सच्याउनुपर्ने प्रवक्ता शर्माको भनाइ थियो । 

‘सीके राउतले जनमत संग्रह गर्न सरकार सहमत भएको भनेर २ नम्बर बुँदाकै ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को व्याख्या गरेको ५ दिन पुगिसक्दा र जनकपुरमा स्वतन्त्र मधेशको व्यानर सहित उनको उपस्थितिमा प्रदर्शन भएको तीन दिन बितिसक्दा पनि सरकारले केवल सामान्य प्रतिक्रिया मात्रै जनाउनु र तत्काल अर्को छलफल आयोजना गरेर साझा मत निर्माण गर्न गम्भीर पहल कदमी नगर्नु रहस्यमय छ’, पत्रकार सम्मेलनमा प्रवक्ता शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

सरकार र सिके राउतबीच भएको सम्झौतामा संविधान संशोधनको विषय उल्लेख नभएको भन्दै प्रवक्ता शर्माले संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती की जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती ? भन्दै प्रश्न गरे । 

फागुन २४ को सम्झौतालाई व्यवहारिकतामा उतार्न पनि सरकार र स्वतन्त्र मधेस गठबन्धनलाई उनले सचेत गराएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *