आज अन्तिम नामावली प्रकाशन : फिर्ता लेलान् बागीले उम्मेदवारी
“
कार्तिक १९, काठमाडौं । आज निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिन्ह दिंदैछ । उम्मेदवारहरु कसैले आफ्नो नाम फिर्ता लिन चाहेमा अब केहि समय मात्र बाँकी छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार १० देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ । तर कतिपय राजनीतिक दल र नेताहरु बागी उम्मेदवारी परेका ठाउँमा तनावमा छन् ।
केही दिनअघिसम्म उम्मेदवार छनोटको दौडधुपमा रहेका नेताहरू यतिबेला बागी उम्मेदवारी दिएकालाई मनाउन लागिपरेका छ । नेताहरु आआफ्नो पार्टीका बागीसँग छलफल र सम्पर्क बढाएका छन् । जिल्ला र केन्द्रीयस्तरका नेताहरू बागीलाई विभिन्न आश्वासन बाँडिरहेका छन् ।
कञ्चनपुरमा क्षेत्र नं २ मा कांग्रेसका एनपी साउदविरुद्ध सिद्धराज भट्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नं. ३ मा पनि रमेश लेखकविरुद्ध प्रेम विष्ट बागी छन् । प्रदेशतर्फ क्षेत्र नं। १ को ‘ख’ बाट नरसिंह विष्ट र २ को ‘क’ बाट बलराम पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
वाम गठबन्धनमा पनि प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट एमालेका दीपकप्रकाश भट्टविरुद्ध एमालेकै हीरासिंह विष्ट बागी उठेका छन् । प्रदेशतर्फ क्षेत्र नं. ३ को ‘क’ मा कर्णबहादुर चन्द र १ को ‘ख’ मा राजेन्द्रप्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरू दुवै एमाले हुन् ।
यता, नेपालगन्जमा पनि उम्मेदवारी छनोटमा असन्तुष्टि जनाउँदै आफ्नै नेता–कार्यकर्ता बागी उठेपछि लोकतान्त्रिक र वाम दुवै गठबन्धन उनीहरूलाई फकाउने प्रयासमा छन् । कांग्रेस, एमाले र माओवादी केन्द्र प्रमुख तीनै दलबाट स्वतन्त्र उम्मेवारी परेको छ ।
बाँके प्रतिनिधिसभा क्षेत्र २ मा वाम गठबन्धनले माओवादी केन्द्रका महेश्वर गहतराजलाई उम्मेदवार बनाएको छ । उनीविरुद्व पार्टीका सबिर खाँले सवतन्त्रबाट बागी उम्मेदवारी दिएका छन् । खाँ केन्द्रीय भेला आयोजक कमिटीका सदस्यसमेत हुन् । उक्त क्षेत्रको प्रदेशसभा (क) मा वाम गठबन्धनले नमुना केसीलाई उम्मेदवारी दिएको छ । उनका विरुद्व माओवादी केन्द्रका अम्मरबहादुर खडका र सन्तोष थारू स्वतन्त्र उठेका छन् । खडका कांग्रेस परित्याग गरी माओवादी प्रवेश गरेका थिए ।
प्रतिनिधिसभा क्षेत्र १ मा लोकतान्त्रिक गठबन्धनले माधवराम खत्रीलाई उम्मेदवार बनाएपछि कांग्रेस नेता कृष्ण कार्कीले बागी हालेका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र २ मा कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई सघाएपछि कांग्रेसकै नेता ध्रुव दाहालले बागी उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा २ मा वाम गठबन्धनका उम्मेदवार पशुपतिदयाल मिश्रविरुद्ध एमालेका शिव डोटेल र मुगबहादुर शाहले बागी उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा क्षेत्र ३ को प्रदेश (ख) मा वाम गठबन्धनका उम्मेदवार एमालेका बाबुराम गौतम छन् । उनीविरुद्व माओवादी केन्द्रका विजयकुमार पाठकले उम्मेदवारी दिएका छन् ।
“