धरानमा खानेपानीको जताततै हाहाकार, एडिवी परियोजना असफल भएकै हो ?

चैत्र ३०, धरान । धरानमा खानेपानीको चरम अभाव हुँदा जताततै हाहाकार भएको छ । एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंक(एडिवी) को ३५ प्रतिशत क्रृण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत गरि करिव २ अरब १६ करोड लगानी भएको धरान खानेपानी आयोजना असफल बन्दै गएपछि धरानमा जताततै खानेपानीको हाहारकार भएको हो ।   

जुलाई २०१७ मा सम्पन्न गर्ने गरी ठेकेदार टियानजीन तुन्दी जोइन्ट भेन्चरले जुलाई २०१५ बाट निर्माण कार्य शुरु गरेको भएतापनि पटक पटक म्याद थप्दै अन्तिम पटक थपिएको ३१ डिसेम्वर २०१९ सम्ममा पनि निर्माण कार्य पूरा नगरी धरान खानेपानी व्यवस्थापन बोर्डलाई अधुरै छोडेर परामर्शदाता गईसकेका छन् । आयोजना प्रमुख इन्जिनियर राजु पोखरेललाई हाल बोर्डको कार्यकारी निर्देशक बनाइएको छ भने नौ महिना परीक्षण काल रहेका कारण ठेकेदार भने अझै रही रहेको छ ।   

आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले सामाजिक सञ्जाल मार्फत धरानको खानेपानी अवस्थाबारे गरेको सर्भेमा उपभोक्ताहरुले खानेपानी नपाएको व्यापक गुनासो गरेका छन् । धरानको वडा नं. १, ७, ९, १०, ११, १२, १४, १५, १६, १७, १ र १९ वडाका उपभोक्ताहरुले खानेपानीको अभाव झेलिरहेको आफ्नो सर्वेमा पाइएको संयोजक गोलेले बताए ।   

उपभोक्ताहरुले लामो समयदेखि खानेपानीको संकटमा जीवन विताइरहेको भएतापनि वोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलसँग सम्पर्क गर्दा हिजोको हावाहुरीले लाइन विग्रिएर समस्या आएको बताउँदै त्यो मर्मत भईसकेकोले अब सहज हुने बताएको गोलेले बताए । उनले आयोजनाको भूमिगत श्रोतबाट औसत ६० लाख लिटर मात्र उत्पादन हुनुनै समस्याको मुख्य जड भएकाले खानेपानीको दोहोरो स्वामित्वको अन्त्य र उत्पादन क्षमतामा विस्तार तथा वितरण प्रणालीमा सुधार नभएसम्म समस्या हल हुन कठिन रहेको दावि गरे ।   

कोरोना भाईरस (कोभिड–१९) का कारण लकडाउन भएपछि संस्थानको सम्पति र दायित्व हस्तान्तरणको कार्य रोकिएको भएतापनि आयोजना अझै अधुरो र अपुरो हुनुका साथै परीक्षणकालमा रहेको र असफलतातर्फ उन्मुख भएकाले आयोजना सफल हुने तथा बोर्डद्धारा खानेपानी व्यवस्थापन गर्न सक्ने अवस्थाको सुनिश्चितता नभएसम्म स्वामित्व र व्यवस्थापनमा एकल नेतृत्व सहित संस्थानलाई नै खानेपानी आपूर्तिको जिम्मेवारी सुम्पिनु उपयुक्त हुने पनि उनले बताए ।   

खानेपानी आपूर्तिमा तत्काल केही सहजता ल्याउन दैनिक २५ लाख लिटर संस्थानको टंकीमा हाल्न भनिएपनि बोर्डले १५ लाख लिटर मात्र हाल्न सकिने बताएकोमा १० लाख लिटर मात्र हाल्न सकेको संस्थानका प्रमुख रामकुमार श्रेष्ठले बताएका छन् । संस्थानले आफ्नो ग्राहकहरुलाई आलोपालो गरेर र ट्याङकरबाट भएपनि पानी खुवाईरहेको उनले बताए ।   

सर्वेमा कसले के भने ? 

जनप्रतिनिधि समेत रहेका विवेक प्रसाईले धरान १ मा पनि खानेपानीको समस्या रहेको बताएका छन् । त्यस्तै सुशिल कुमार चौधरीले वडा नं. १ को हालत पनि खराब रहेको बताएका छन् । डि.वि. मोक्तान तामाङले लक्ष्मी चौकमा दिन विराएर आउने गरेको बताएका छन् । त्यस्तै सुमन श्रेष्ठ भन्छन्–‘धरान १ मा पहिले दिन बिराएर आइरहेको पानी अहिले दुई दिन बिराएर आइरहेको छ ।’ उमेश खतिवडाले धरान ७ को गोविन्द रोडमा समस्या भएको बताएका छन् । त्यस्तै रमिता श्रेष्ठ र उमा पौडेलले पनि धरान ७ मा धेरै समस्या रहेको बताएका छन् ।   

धरान ८ का केशव पोख्रेलले अटल पम्प र बरगाछीको विचमा राम्ररी पानी नआएको महिनौं भएको बताएका छन् । समिता जिम्बा र जोगन्द्र तामाङले धरान ८ को भोटेपुल तथा सिता टोलमा गाह्रो भएको बताएका छन् । धरान ८ शिद्धकाली चौक, स्विमिङ पुल लाईनमा पनि पानी आएको डुका घिसिङले बताएकी छिन् । सुधिर श्रेष्ठले धरान ८ बरगाछी मुनि धेरै गाह्रो रहेको बताएका छन् । धरान ८ धनकुटे रोडमा पनि समस्या रहेको याम गोलेले बताएका छन् । धरान ८ शहिररत्न मार्गको अस्था पनि नाजुक रहेको युनी गोले मोक्तानले बताएकी छिन् ।   

धरान ९ को आचार्य लाईनमा धेरै समस्या भएको कविता ढकालले बताएकी छिन् । त्यस्तै धरान ९ कै पुतली लाइनमा पनि पानीको चरम अभाव भएको समिर जोशीले बताएका छन् । धरान १० को विशाल पथमा ४ महिनादेखि पानी नआएर टंकीनै फुट्न थालेको बताउँदै एडिवीको भन्दै संस्थानको पानीलाई एडिवीको प्लाष्टिक पाईपमा हालेपछि हाहाकार भएको गंगा राई बताउँछिन् । त्यस्तै राम चापागाई भन्छन्–‘धरान १० कै देवीथान लाईनमा कम पानी आउँछ, सम्बन्धित निकायको ध्यान जाओस् ।’ 

केतन श्रेष्ठले बलभद्र पथमा हात धुने पानी पनि नभएको बताएका छन् । १० नं. वडा समितिको लाइनमा धेरै कम पानी आउँछ । ‘संस्थानलाई पानी नआएको बताउँदा नसुने जस्तो गर्छ’ कल्पना सुवेदी पोखरेल लेख्छिन् । धरान ११ मंगलबारे चौक नजिकैमा ३ वर्षदेखि इन्जिनियर प्रमुख राजु पोखरेललाई भनिए पनि दश वहाना बनाएको स्थानीयको भनाई छ ।   

त्यस्तै धरान ११ कै ऐश्वर्य मार्गमा दुईजनाको परिवारलाई पनि पानी नपुग्ने स्थानीय रिता मोक्तान भन्छिन् । धरान ११ कै सयपत्री चौक, गोदावरी चौक, किसान पथमा सरकारी धारा, निजी धारा तथा पुरानो पाइप जडान भएको घरहरुमा कार्तिक देखि पानी नचुहेकोे जगन्नाथ दाहालले बताएका छन् । धरान ११ कै भवानी मार्गम, साम्यक मार्गमा पनि पानीको हाहाकार रहेको छ । धरान ११ को माथिल्लो भेगमा पनि समस्या रहेको गंगा राईले बताइन् । धरान १२ को चतरा लाईनमा दिन विराएर सानो फोर्समा १ घण्टामात्र पानी आउने गरेको स्थानीय पुर्णकाजी शाक्य बताउँछन् । धरान १२ को महेन्द्रपथमा पनि समस्या भएको विवेक अग्रवालले बताए । त्यस्तै निशु अग्रवालले धरान १२ को अभिनन्दन मार्गमा समस्या भएको बताएकी छिन् । 

त्यस्तै धरान १४ मा पनि बिजोग भएको सरोज बरालले बताएका छन् । सुनिल पोखरेलले धरान १५ को पुष्पलाल मार्गमा पानीको समस्या रहेको बताए । राजिव दाहालले अमरज्योति पथमा पानी नआएको बताउँदा देउराली पथमा हावा मात्र आउने गरेको रिमेश श्रेष्ठले बताए । धरान १५ कै सयपत्री मार्गमा पानीको हाहाकार छ । धरान १५ कै देविका तामाङले ३ दिनदेखि पानी नआएको बताएकी छिन् । मदन आश्रित मार्गमा पनि धेरै समस्या भएको संदिप थापाले बताएका छन् ।   

धरान १६ का तिर्थ कार्कीले जोरसखुवा अगाडिको लाइनमा समस्या भएको बताएका छन् । धरान १६ कै भगवती मार्गमा पानी कम आउने गरेको शैलेन्द्र श्रेष्ठ र मदन चेम्जोङले बताएका छन् । धरान १६ कै भूपिमार्गमा पनि समस्या रहेको अन्जना राईले बताएकी छिन् । धरान १८ का धिरेन्द्र कुमार मण्डलले बुद्धचौक मास्तिर समस्या रहेको बताएका छन् । धरान १९ को प्रगति चौक देखि दक्षिण पूर्व एक दिन विराएर धेरै सानो भुईको टंकीमा समेत नचढ्ने गरेको नरप्रसाद लुम्फुङ्वा लिम्वुले बताएका छन् ।   

लक डाउनको वेला त खानेपानीको यस्तो वेहाल अवस्था छ झन् सकृय जीवनशैली भएको वेला कस्तो अवस्था होला ? भन्दै धरान उपमहानगरपालिका, बोर्ड, संस्थान र सरोकारवाला निकाय वीच अविलम्व संवाद शुरु गरी समस्याको समाधानतर्फ अघि बढ्न गोलेले आग्रह गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *