लागुऔषध सहित दुई पक्राउ
श्रावण २, हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालयको टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प ३२४५ नंको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार भुजेलले पछाडि भिर्ने झोलामा लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषध वानरेक्स एक सय एम एलको १०० बोतल फेला परेपछि निजहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
null
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबर्जस्तीकरणी मुद्दामा अदालतले दोषी साबित गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । फरार रहेका जिल्ला मकवानपुर हेटौंडा उपमहानगपालिका–६ बस्ने ४४ वर्षीय पुण्यप्रसाद चौलागाइँलाई प्रहरीले पक्राउ गरेको हो ।
चौलागाईंलाई जिल्ला अदालत मकवानपुरको मिति २०६९ साल चैत ६ गतेको फैसला र पुनरावेदन अदालत हेटौँडाबाट २०७१ साल असार १७ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय तोकेको थियो ।
जिल्ला प्रहरी टोलीले दुई दिनअगाडि असार ३१ गते पक्राउ गरेको र आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । चौलागाईंलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार भीमफेदी पठाइएको जनाएको छ । रासस
कमेन्ट