भारतसँग सीमा जोडिएको देवानगञ्जका दुई स्थानमा हेल्प डेक्स

फागुन ३०, देवानगञ्ज । सुनसरी देवानगञ्ज गाउँपालिकाका दुई स्थानमा हेल्प डेक्स स्थापना गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन भारतसँग सीमा जोडिएको सुनसरी देवानगञ्ज गाउँपालिकाको कोउवाँखोज छोटी भन्सार र सहेवगञ्ज छोटी भन्सारमा हेल्प डेक्स स्थापना गरिएको हो ।   

बिहिवार देवानगञ्ज गाउँपालिकाले एक कार्यक्रमकाबीच छिमेकी देश भारतसँग सीमा जोडिएको नाकाहरुबाट देवानगञ्ज  गाउँपालिका भित्रिने प्रमुख प्रवेशद्धारमा सरोकारवलाहरुको उपस्थितीमा गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले हेल्प डेक्सको उद्घाटन गरे । साथै उक्त कार्यक्रममा स्वास्थ्य जाँचका लागि उपकरण समेत प्रदान गरिएको थियो ।   

कोरोनाबारे वडास्तरमा पनि सचेतना कार्यक्रम गर्नुका साथै आवश्यकता अनुसार सीमा सुरक्षा पोष्ष्टमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा हेल्प डेक्सलाई अझ वयवस्थित र प्रभावकारी बनाउदै लगिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलौचन न्यौपानेले बताए । 

हेल्प डेक्स स्थापनासँगै प्रचारप्रसारको भूमिका रेडियो नागरिक १००.४ मेगाहर्जले गर्ने छ । कोरोना श्वासप्रश्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिड्दासमेत हावाका माध्यमबाट सर्ने भएकोले सतर्कता अपनाउन रेडियोका प्रवन्ध निर्देशक अरविन्द मेहताले सबैमा आग्रह गरे । 

देवानगञ्ज गापाका स्वास्थ्य संयोजक उमेश प्रसाद मेहताले कोरोना भाइरसले विश्वभर विकराल रुप लिएकाले यसबाट सबै सचेत  हुन आआफ्नो क्षेत्रबाट बच्ने उपायबारे पर्चा, पम्पलेट वितरणमा सहयोग गर्न तथा ग्रामीण क्षेत्र भएकोले सरसफाईमा ध्यान दिन समेत आग्रह गरे । 

भारतबाट आउने व्यक्तिको स्वास्थ्य परिक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको हेल्प डेक्स उद्घाटन कार्यक्रममा गापाका उपाध्यक्ष पुनितादेवी यादव, वडाअध्यक्षहरु मजलुम अंसारी, चन्देश्वर मेहता, अशोक यादव, देवानरायण मेहता, बद्री यादव, सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट कप्तानगञ्जका प्रहरी निरिक्षक श्यामवावु यादव लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा माक्स समेत वितरण गरिएको गापाका योजना प्रमुख प्रसन्नधोज कार्कीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *