उदयपुरमा काेराेना संक्रमित भेटिएपछि उदयपुर सुनसरी सिमा पूर्णरूपमा शिल गरियाे

बैशाख ५, धरान । सुनसरीसँग सिमाना जोडिएको उदयपुरमा काेराेना भाइरस संक्रमित भेटिएपछि धरान–चतराको बाटो पूर्णरुपमा सिल गरिएकाे छ । सुनसरीसँग सिमाना जोडिएकाे उदयपुरको भुल्केमा एक दर्जन भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण (कोभिड १९)को पुष्टि भएपछि उच्च जोखिम बढेको भन्दै धरान चतरा उदयपुर सडक खण्ड सिल गरिएको हाे । 

आज शुक्रबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले यो सडक भएर धेरै मानिसहरु यात्रा गर्ने भएकोले उच्च जोखिम बढ्ने भन्दै सिल गरिएको जानकारी गराएका छन् । मेयर राईले प्रहरीसँग समन्वय गरेर आजै देखि यो सडक खण्डलाई पुर्णरुपमा सिल गरिएको बताए ।  

‘धरानबाट चतरा, कोशी पुल हुँदै उदयपुरको बाटो प्रयोग गर्ने गरिएको छ । उदयपुरमा संक्रमित पुष्टि भएपछि धरानमा पनि जोखिम बढेकोले बाटो पुरै सिल गरिएको छ ।’ मेयर राइले भने । उनले सम्पुर्ण नगरबासीहरुलाई धरान उच्च जोखिमको अवस्थामा रहेकोले कोही पनि घरबाहिर ननिस्किन आग्रह पनि गरेका छन् । 

यसैबिच छिमेकी जिल्लामा कोरोना संक्रमणले जोखिम बढाएपछि धरान उपमहानगरले थप आवश्यक रणनीति तय गर्न भोली शनिबार ११ बजे सुरक्षा बैठक बोलाएको छ । उक्त बैठकले धरानलाई सुरक्षित बनाउन लकडाउन अझै कडा बनाउने बारे निर्णय लिन सक्ने अनुमान छ । उता कोरोना पोजेटिभ देखिएकालाई उदयपुरबाट विराटनगर लगिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *