‘शिक्षकलाई दलको झोला बोकेर कक्षा कोठा विर्सन छुट छैन’

काठमाडौँ, माघ ५ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले दलको झोला बोकेर कक्षा कोठा नआउने आफ्ना सदस्यहरुलाई कारबाही गर्ने भएको छ ।

काठमाडौंको डिल्लीबजार कन्या माविमा सम्पन्न संगठनको पाँचौं जिल्ला सम्मेलनले नेताको झोला बोक्ने, कक्षाकोठामा नियमित उपस्थित नहुने, शिक्षकको कर्तव्य प्रति इमान्दार नबन्ने कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीको शुरुवात पहिले संगठनकै सदस्यहरुबाट गर्ने र पछि दायरा बढाउँदै लगिने संगठनले जनाएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्व शिक्षामन्त्रीले दिनानाथ शर्माले सार्वजनिक शिक्षा कमजोर हुँदा शिक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको भन्दै दक्ष जनशक्तिको कमी भएकाले सवै मिलेर सार्वजनिक सुधारमा लाग्नुपर्ने शर्माको बताए । शिक्षकहरुले असल शिक्षा दिए शिक्षा सुधार हुने र शिक्षा सुधार भएमात्रै मुलुक समृद्ध बन्ने शर्माको तर्क थियो ।

कार्यक्रममा माओवादी केन्द्रका काठमाडौं जिल्ला संयोजक लेखनाथ न्यौपानेले अब शिक्षक नेता आन्दोलनबाट होइन उसको कार्यशैलीबाट छनौट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष रमेश रुपाखेतीले वामपन्थी शिक्षकहरुको एउटै साझा मञ्च बनाएर एकीकृत रुपमा शैक्षिक विकासमा लाग्नुपर्ने बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले अहिलेको समयको माग भनेको विगतको जस्तो दलको झोला बोकेर वर्गाीय आन्दोलनमा लाग्ने नभइ शिक्षाको समृद्धिमा लाग्नुपर्ने भएको बताए ।

शिक्षकहरुलाई कक्षाकोठामा राम्रो प्रस्तुति दिनुबाहेकको अन्य विकल्प नभएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका निर्वतमान अध्यक्ष भीमप्रसाद पोखरेलले संगठनका सदस्यहरुलाई अब दलको झोला बोकेर कक्षाकोठा बिर्सने छुट नभएको स्पष्ट पारे ।

मियाको नेतृत्वमा नयाँ कार्यसमिति
एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला सम्मेलनले कमालदीन मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नानीराम सापकोटा, महिला उपाध्यक्षमा कल्पना पनेरु, उपाध्यक्षहरुमा मचाभाई महर्जन, मधुसुदन रेग्मी र प्रविण न्यौपाने रहेका छन् ।

त्यस्तै, सम्मेलनबाट सचिवमा कृष्णराज कट्टेल, अर्थ सचिवमा सञ्जिवकुमार सिंह, सहसचिवहरुमा अमृता मजाकोटी, राजु खत्री र जग प्रसाद तिवारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *