भरतपुर ‘रोगको सिटी’ बन्ने खतरा
किशोर खनाल
भरतपुर । भरतपुर मेडिकल सिटीको रुपमा मात्र होइन, रोगको सिटीको रुपमा पनि चिनिने खतरा बढेको छ । विगत केही वर्षदेखि नेपालका अन्य सिटीहरुमा नदेखिएका रोगहरु भरतपुर सिटीमा देखिदै आएको छ ।
डेंगु, स्क्रब टाइफस र पछिल्लो समय चिकेनगुनियाजस्ता नयाँ रोगहरु सुरुमा भरतपुर सिटीमै देखिएका हुन्’ जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाले भने, ‘नयाँनयाँ रोगहरु भरतपुर सिटीमै आएर देखिएको हुनाले यहाँ रोगको खतरा बढी छ ।’ ‘भरतपुर मेडिकल सिटी भन्छौँ हामी, तर पछिल्लो समय रोगहरुको सिटी पनि बन्ने खतरा बढेर गएको छ’ जनस्वास्थ्य कार्यालय भरतपुरका फोकल पर्सन अनुप अधिकारीले भने । डेंगु, स्क्रब टाइफस, चिकेनगुनिया जस्ता रोगहरु भरतपुरमै देखिएकाले यसको सजगतामा जनस्वास्थ्य कार्यालय नियमित लागिरहेको उनले बताए ।
पूर्व–पश्चिमको मध्यभाग, नारायणगढ–मुग्लिन सडकमा लगातार पहिरो, नारायणी नदी किनारको छेउ, तापमान वृद्धि, वनजंगल र यसको फँडानी, वातावरण प्रदुर्षणलगायतका विविध कारणले भरतपुर महामारीको जोखिमयुक्त रहेको जनस्वास्थ्य प्रमुख झाले बताए । उनले भने, ‘यो वर्खाको समय झन् यहाँ नयाँनयाँ रोगहरु देखिन सक्छ, महामारी नै फैलिन सक्छ । त्यसैले हामी सजग र सचेत हुन जरुरी छ ।’
महामारी रोग र स्वास्थ्य सेवा विषयक पत्रकार भेटघाट कार्यक्रममा प्रमुख झाले चितवनमा महामारी फैलिन सक्ने हुँदा जनस्वास्थ्य कार्यालय ‘हाई अलर्ट’मा बसेको बताए । उनले भने, ‘चितवनमा ठूलो महामारी फैलन सक्ने डर छ, तर पनि हाम्रो टिम पूरा तयारी अवस्थामा छ ।’
तीन रोगको बढी खतरा
चितवनमा तीन रोगको बढी खतरा छ । पहिलो डेंगु, दोस्रो स्क्रबटाइफस र पछिल्लो समय चिकेनगुनियाको पनि खतरा बढेको छ । डेंगु र चिकेनगुनिया लामखुट्टेबाट सर्छ । यसको भाइरस मार्न सकिदैन । स्क्रबटाइफस जंगलको किर्नाबाट सर्छ । यो किर्ना मुसाको कानमा बस्छ । यसको किटाणु नाङ्गो आँखाले देख्न सकिदैन ।
चितवनमा चिकेनगुनिया हालसम्म तीन जनामा देखिएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । उनले भने, ‘चिकेनगुनिया र डेंगु सार्ने लामखुट्टे एकै खालका हुन् ।’ यसको नियन्त्रण भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
चिकेनगुनिया भएपछि डेंगुकै लक्षण ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, जोर्नीहरु बढी दुख्ने हुन्छ । चिकेनगुनिया सार्ने लामखुट्टे टायर, गमलाको सफा पानीमा बस्छ । ‘डेंगु र चिकेनगुनियामा खासै फरक छैन, सार्ने लामुखट्टे पनि एकै हुन्’ निरीक्षक केसीले भने ।
डेंगु, स्क्रबटाइफस, चिकेनगुनियाबाहेक चितवनमा मलेरिया, हैजालगायतका रोगहरुको पनि जोखिम छ । चितवनमा ०७३÷०७४ मा १५ जनामा मलेरिया देखिएको थियो । यो वर्ष २ हजार ५६२ जनामा डुेंगु परीक्षण गर्दा ६८७ जनामा डेंगु भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुबाट यो वर्ष एकको मृत्युभएको छ । डेंगु विशेष गरी रत्ननगरमा देखिएको उनले बताए ।
यो वर्ष स्क्रब टाइफसबाट ४ जनाको मत्यु भएको छ । मृत्यु हुनेमा एक जना तनहुँ र ३ जना चितवनका रहेका छन् । चालु आर्थिक वर्ष ०७३÷७४ मा ५०४ जनामा स्क्रब टाइफस भेटिएको थियो ।
‘कीटको अभाव छ’
चितवनमा स्क्रब टाइफस, डेंगुको परीक्षण गर्न कीटको अभाव भएको छ । ‘हामीसँग पर्याप्त कीट छैन । एकदम सीमित मात्रामा छ । त्यसैले यो अभाव भएको हो’ जनस्वास्थ्य प्रमुख विजयकुमार झाले भने, ‘आएजति कीट अस्पतालहरुलाई उपलव्ध गराएका
छौँ ।’
उनले पछिल्लो समय स्क्रबटाइफसको परीक्षण गर्न प्रयोग हुने कीट भरतपुर अस्पतालामा ५० वटा र बकुलहर अस्पतालमा २५ वटा कीट उपलव्ध गराएको बताए । ‘हामीले स्वयम् अस्पतालहरुलाई नै कीट किनेर राख्न भनेका छौँ’ उनले भने, ‘डेंगु र स्क्रब टाइफसको परीक्षण जिल्लामा भए पनि चिकेनगुनियाको परीक्षण गर्न काठमाडौँ नै पठाउनुपर्छ ।’
सबैको लक्षण ज्वरो
ज्वरोलाई हामीले सामान्य रुपमा लिन्छौँ । यसलाई सामान्य रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् । डेंगु, स्क्रबटाइफस, चिकेनगुनिया, मलेरियालगायत सबैको मुख्य लक्षण भनेको ज्वरो हो । त्यसैले पनि ज्वरोलाई सामान्य रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
‘हामी ज्वरो आयो भनेर अस्पतालमा गएर सोझै एन्टिबायोटिक माग्छौँ र खान्छौँ । मागेको औषधिले सञ्चो गर्दैन । ज्वरो
बढ्दै गएपछि बल्ल अस्पताल जान्छौँ । त्यतिन्जेलसम्म रोगले निक्कै च्यापेको हुन्छ’ जनस्वास्थ्य कार्यालय प्रमुख झाले भने, ‘ज्वरो आउनसाथ सम्बन्धित चिकित्सकसँग पुगेर जाँच गराइहाल्नुपर्छ ।’
उनले ज्वरोलाई सामान्य रुपमा लिन नहुने बताए । ‘अहिले नयाँनयाँ रोग देखिएको छ, त्यसैले ज्वरोको लक्षण देखिनसाथ हामी सजग हुन जरुरी छ’ पत्रकार भेटघाट कार्यक्रममा उनले भने ।
पत्रकार भेटघाटको सहजीकरण सञ्जीवनी हेल्थ मिडिया, नेपाली हेल्थ डटकम र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले गरेको थियो ।