आर्थिक समृद्धिमा मेरो भूमिका केन्द्रित रहने छः भगवती चौधरी
“
कार्तिक २२, सुनसरी । नेपाली जनताले आफूलाई अवसर दिएमा सुनसरी क्षेत्र नं. ३ लाई आर्थिक नमुना केन्द्र बनाउने बाम गठबन्धनकी साझा उम्मेदवार नेकपा एमालेकी नेतृ भगवती चौधरीले बताएकी छिन् ।
आफ्नो क्षेत्रमा जारी चुनावी अभियानमा जनताका घरदैलोमा जाँदै नेतृ चौधरीले महिला तथा युवाहरूलाई आर्थिक क्षेत्रमा पहुँच पुर्याउँदै सुनसरी ३ नं. क्षेत्रलाई मुलुककै उदाहरणीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
नेतृ चौधरीले आफूसँग देश विदेशका विकासका एकसे एक योजना रहेकाले आफूले काम गर्ने अवसर पाएमा यस क्षेत्रका शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, उद्योग, कल कारखाना, रोजगारीमा आमूल परिवर्तन गरी जनतालाई स्वाबलम्बी र आत्मनिर्भर बनाउन आफ्नो पहलकदमी रहेको बताइन् । ‘विश्वका धेरै देशहरू कसरी विकासको पथमा पुगे ? उनीहरूको आर्थिक, सामाजिक, राजनीतिक विकास कसरी भयो ? भन्ने कुराको ज्ञान मसँग छ, त्यो ज्ञानलाई यो क्षेत्रमा उपयोग गर्न चाहन्छु ।’ बुधवार सो क्षेत्रका जनतासँग उनले भनिन् । ‘मेरो मुख्य एजेण्डा भनेकै आर्थिक संवृद्धि, सिपमुलक शिक्षा र आत्मनिर्भर अर्थतन्त्र रहनेछ ।’
दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारसँग झिनो मतमा पराजय ब्यहोर्न पुगेकी उनले यस पटक आफ्नो जीत सुनिश्चत भएको दाबी गर्दै पटकपटक सत्तामा पुगेर पनि आफ्नो क्षेत्र र जनताको विकासका लागि केही नगर्नेहरुले पुनः सत्तामा पुग्ने सपना नदेखे हुने दाबी गर्दै भनिन् । ‘हामी सबैलाई थाहा छ, पटकपटक सत्तामा पुगेकाहरुले यो क्षेत्रका लागि केके गरे भनेर । अब यस पटक जनताले सही मुल्याङकन गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’ उनले भनिन् । चौधरीले देश विकासको लागि उद्योग कल कारखानालाई सञ्चालनमा ल्याउन उचित वातावरण बनाउन र श्रमिकहरूको हक अधिकार स्थापना गर्न नेकपा एमालेले खेलेको भूमिका सदैव उच्च रहेको र आफुलेपनि त्यही मूल्य र सिद्धान्तमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
चौधरीले कृषि क्षेत्रलाई व्यवसायिकीकरण गरी किसानहरूलाई प्रोत्साहित गर्ने, महँगो शिक्षालाई सर्वशुलभ बनाउनका लागि शिक्षा नीति तयार गर्ने र प्राविधिक शिक्षालाई सबैको पहुँचमा पुर्याउने र प्रत्येक गाउँमा डाक्टर, इन्जिनियर उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले सुनसरी क्षेत्र नं. ३ का हरेक गाउँ, टोलका कच्ची बाटोलाई ग्राभेल बनाउने र ग्राभेल सडकलाई कालोपत्रे गर्ने तथा क्षेत्र नं. ३ मा रीङ्ग रोड निर्माणमा जोड दिने प्रतिबद्धता जनाएकी थिइन् ।
“