प्रधानमन्त्रीले बोल्नै पाएनन्

 

असार ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा नाराबाजी जारी राखेपछि बैठक स्थगित गरिएको छ । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने कार्यक्रम तय भएको थियो । प्रम ओलीले विवादित गुठी विधेयक र युरोप भ्रमणबारे संसदमा बोल्ने जानकारी दिइएको थियो । 

null

गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । 

तर प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेरेपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित भएको जानकारी गराएका हुन् । 

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुखले उनीहरुलाई समय नदिई प्रधानमन्त्रीलाई बोल्न समय दिए । 

त्यसपछि प्रधानमन्त्रीले सम्बोधन गर्न नपाउँदै कांग्रेस सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्दै नाराबाजी सुरु गरे । उनीहरुले प्रधानमन्त्रीलाई बोल्न दिएनन् । 

सभामुख महराले पहिले प्रधानमन्त्रीको कुरा सुनेपछि मान्य सदस्यहरुले बोल्न पाउनु हुनेछ म प्रमुख प्रतिपक्ष दलका सांसदहरुलाई समय दिन्छु भनेर पटक पटक अनुरोध गर्दा पनि सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो । 

प्रधानमन्त्री ओलीले हिजो बालुवाटारमा नेकपाका सांसद, केन्द्रीय नेता तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका थिए । प्रम ओलीले युरोप भ्रमणबाट फर्केलगतै भूमि सुधार मन्त्री पद्मा अर्यालसँग पनि यसबारे जानकारी लिएका थिए । 

त्यस्तै आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल पनि जारी रहने कार्यक्रम थियो । बैठकमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि विनियोजित बजेटका बारेमा सांसदहरुले धारणा राख्ने बताइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *