निर्वाचन खर्च नियन्त्रणका लागि अनुगमनमा ध्यान दिन सरकारलाई आयोगको आग्रह
“
काठमाडौं, कात्तिक २४ । निर्वाचन आयोगले निर्वाचनमा हुने अधिक खर्च नियन्त्रणका लागि अनुगमनको काममा तीव्रता दिन सरकारलाई आग्रह गरेको छ । निर्वाचनमा हुने अधिक खर्च नियन्त्रण गर्ने दायित्व सरकारको भएको निर्वाचन आयोगले स्पष्ट पार्दै सरकारलाई यस्तो आग्रह गरेको हो । आज काठमाडौंमा आयोजित उद्योगी व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन प्रचार अभियानमा अधिक खर्च भएको पाइएको स्वीकार गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
प्रमुख आयुक्त यादवले नेपाल राष्ट्र बैंकलाई समेत निर्वाचनमा अधिक मौद्रिक प्रवाह हुने गरेकोले त्यसको स्रोतको खोजी गरिदिन आग्रहसमेत गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले सम्पत्ति सुद्धिकरण, राजस्व विभागमार्फत् पनि निर्वाचनमा हुने अधिक खर्चको स्रोत पत्ता लगाई कार्वाही गर्न सरकार अग्रसर हुनुपर्ने पनि स्पष्ट पार्नुभएको छ ।
“