सरकारी जग्गा हिनामिनाबारे महासचिव पौडेल भन्छन्– मेरो संलग्नता छैन, भ्रममा नपरौं


चैत २७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरणबारे मुख खोलेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महासचिव पौडेलले वास्तविकता ओझेल पर्ने गरी केही सञ्चार माध्यमहरुले आफ्नो नाम जोडेर बदनाम गर्न खोजेको आरोप लगाए ।
null
पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखित पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।’
उक्त जग्गा सरकारी स्वामित्वको थियो भन्ने कुरा आफूलाई त्यतिबेला जानकारी नभएको पनि उनले स्पष्ट पारेका छन् ।
केही दिनअघि प्रधानमन्त्री, प्रधानन्यायाधीश निवास परिसरको जग्गा भूमाफियाले चलखेल गरी व्यक्तिका नाममा दर्ता गराएको तथा बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा पौडेलको समेत ८ आना जग्गा रहेको समाचार विभन्न सञ्चार माध्यममा सार्वजनिक भएका थिए ।
