भारतमा २१ दिने लकडाउन सकिँदै, प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने

वैशाख २, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन् । सरकारले लागु गरेको २१ दिने देशव्यापी लकडाउनको अन्तिम दिन भएकाले उनले मङ्गलबार सम्वोधन गर्न लागेका हुन् । 

मोदीले स्थानीय समय अनुसार मङ्गलबार विहान १० बजे सम्वोधन गर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । सम्वोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउनको पालना गरिदिएकोमा आम नागरिकलाई धन्यवाद दिदै थप दुई हप्ता लम्याउने घोषणा गर्ने अपेक्षा गरिएको छ । 

लकडाउनको थपिएको अवधिमा केही आर्थिक क्रियाकलापलाई भने खुकुलो पारिने अधिकारीहरुले जानकारी दिएका छन् । 

“प्रधानमन्त्री नरेन्द्र मोदीले १४ अप्रिलका दिन विहान १० बजे राष्ट्रका नाममा सम्वोधन गर्नुहुने भएको छ,” प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ । अधिकांश मुख्यमन्त्रीहरुले पनि लकडाउनको अवधि बढाउनु पर्ने सुझाव दिएकाले त्यस कुरालाई मध्यनजर गरिने कार्यालयका अधिकारीहरुको भनाई छ । 

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम राख्नु नै मुख्य उपाय भएकाले लकडाउनको थप आवश्यकता रहेको ठानिएको छ । मुख्यमन्त्रीहरुसँगको गत शनिबारको भिडियो बैठकमा लकडाउनलाई लम्व्याउनु पर्नेमा सवैको एक मत रहेको जनाइएको छ । 

लकडाउन घोषणा गर्दा प्रधानमन्त्री मोदीले स्वास्थ्य नै धन भएको भन्दै अहिले कमाउनभन्दा ज्यान जोगाउन ध्यान दिन आग्रह गरेका थिए । भारतको उज्ज्वल भविश्य, सम्वृद्धि र स्वच्छ भारतका लागि सवैले लकडाउनको पूर्ण पालना गर्नु पर्नेमा प्रधानमन्त्री मोदीले जोड दिएका थिए । 

भारतका सात राज्यहरु महाराष्ट्र, ओडिसा, पन्जाव, पश्चिम बंगाल, कर्नाटक, तमिल नाडु र तेलंगनाले कम्तीमा यही अप्रिल ३० सम्म लकडाउन कायम राख्ने घोषणा यसअघि नै गरीसकेका छन् । भारतमा गत मार्च २५ तारिखदेखि देशव्यापी लकडाउन लागु भएको छ । लकडाउनलाई कडा बनाउन लकडाउन उलङ्घन गरेको हजारौंलाई प्रशासनले कारबाही पनि गरेको छ । 

प्रधानमन्त्री मोदीले कोरोना विरुद्धको लडाई र लकडाउनलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्रीहरुसँग पटक पटक भिडियो बैठक गरेका छन् भने उनले मन्त्रिपरिषद् बैठक पनि भिडियोबाटै गरेका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३०८ पुगेको छ । त्यसैगरी सङ्क्रमित हुनेको सङ्ख्या नौ हजार १५२ पुगेको पनि मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *