नेपाली बलिङ सामु निरीह मलेसिया, ४५ रनमै अलआउट
“
कार्तिक २८, काठमाडाैं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियासँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेकाे छ । पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १५ ओभर ३ बलमा मात्रै ४५ रनमै अलआउट गरेकाे छ ।
मलेसियालाई कम रनमा अल आउट गर्ने क्रममा नेपालकालागि सन्दिप लामिछानेले पाँच विकेट लिए । भने, कप्तान दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान दुई दुई विकेट हात पारे ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेका मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाउन सक्याे । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले खाता समेत खाेल्न सकेनन् ।
यस अघि आइतबार भारतलाई हराएको नेपाललाई सेमिफाइनलमा पुग्न याे खेलमा मलेसियालाई फराकिलो अन्तरले हराउनु पर्नेछ । भारत र बङ्गलादेशबिचको खेलको परिणामले पनि नेपालको सेमिफाइनलमा पुग्ने भाग्य निर्धारण गर्नेछ ।
भारतसँगकाे खेलमा बङ्गलादेश विजयी भएको खण्डमा नेपाललाई सहज हुनेछ । भारत विजयी भएको खण्डमा तीन टोलीको समान ४–४ अङ्क हुनेछ । यस्तोमा नेट रन रेटको आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
“