‘बिआरआई सिले नै बाहिर ल्याएको कुरा हो ।’ डा. शर्मा

असोज २३, काठमाडौं । चीनको लेशान नर्मल विश्वविद्यालयका एशोसिएट प्राध्यापक डा. बुद्धि प्रसाद शर्माले नेपालले झिनामसिना सम्झौताभन्दा दिर्घकालिन हित हुने परियोजनामा सम्झौता गर्नतर्फ बढि ध्यान दिनुपर्ने सुझाव दिएका छन् । आज रिपोर्टर्स क्लबमा बोल्दै डा. शर्माले चीनमा देङसियाओ पिङपछि चिनियाँहरुले सबैभन्दा बढि मान्ने नेतामा वर्तमान राष्ट्रपति सी पर्ने बताए ।   

‘उहाँको देशभित्र र बाहिर दुवैतिर त्यतिनै राम्रो छबि छ । उहाँलाई मान्नेहरु देशबाहिर पनि उतिकै छन् । चीनले अघि सारेको बेल्ट एण्ड रोड ईनिसिएटिभले विश्वभरि एउटा आशा सञ्चार गरेको छ । सीको यो नेपाल भ्रमण अत्यन्तै ऐतिहाँसिक र महत्वपूर्ण छ ।’ उनले भने । डा.शर्माले सीको नेपाल भ्रमणलाई लिएर सारा विश्वले यतिवेला नेपालतिर हेरिरहेको पनि तर्क गरे । ‘आखिर सी नेपाल किन गैरहेका छन् ? के छ नेपालमा त्यस्तो ? किन नेपालले यतिवेला सिलाई स्वागत गर्न खोजिरहेको छ ? भन्ने किसिमबाट विश्वले नै हेरिरहेको छ । हामीले यो भ्रमणलाई सफल बनाउनुपर्छ ।’ उनले भने । 

सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड नेक्शनले चीनको भ्रमण गरेको सुनाउँदै शर्माले देङ सिआयो पिङको १९७८ अगाडि भएको यो घट्नाले विश्वको लागि ढोका खोलिदिएको तर्क गरे । ‘अहिले चीन विश्वको ग्लोबलाईजेशनको हिरो र क्यापिटलको हिरो हो । जोसँग विश्वमा सबैभन्दा बढि फरेन करेन्सी रिजर्भ छ । यस्तो पावरलाई हामीले अहिले स्वागत गर्न गैरहेका छौं । बिआरआई सिले नै बाहिर ल्याएको कुरा हो ।’ उनले भने । 

नेपालले यो भ्रमणमा सानातिना कुरा र झिनामसिना सम्झौता भन्दापनि नेपललाई दिर्घकालिन रुपमा लाभ हुने विषयमा बढि केन्द्रित हुनको लागि उनको सुझाव छ । उनले भने,‘हामीले ठूला संरचनामा बढि ध्यान दिनुपर्छ । रेलवेको कुरा हुनसक्छ । सडकमार्ग, उर्जा, सञ्चार, प्रविधि र बास्तवमा विकास र समृद्धि भनेको लगानी हो । बिना लगानी केही हुनेवाला छैन । आजको चीन र भारत लगानीले नै भएको हो । मसँग पैसा छैन भन्नुपर्ने अवस्था छैन । त्यसको लागि देशभित्र आर्थिक र कानुनी संरचना र वातावरण बनाउनुपर्छ । कानूनमा सुधार हुनुपर्छ ।’   

चीनले आर्थिक समृद्धिमा ठूलो फड्को मारेको बताउँदै उनले चीनको सरकार आफ्नो देशको सबै ठाउँमा पुगेको सुनाए । उनले भने,‘चीनले आफ्नो देशको सबै ठाउँमा आधारभुत पूर्वाधार विकास पुर्याएको छ । चीनबाट हामीले धेरै लाभ लिन सक्छौं ।’ 

शर्माले सी विचारधारा नेपाल आईरहेको छ भनेर हल्ला भएकोबारे टिप्पणी गर्दै उक्त हल्लामा कुनै सत्यता नरहेको पनि जिकिर गरे । उनले भने,‘यो सत्य होईन । सी थट त चीनको लागि हो, चीनको माटो सुहाउँदो हो । चीनको सामाजिक–सांस्कृतिक सबै कुरा हेरेर बनेको दस्तावेज हो । त्यसबाट हामीले सिक्न सक्छौं ।’ उनले नेपालले पूर्वाधार विकासमा बढिभन्दा बढि लगानी कसरी भित्र्याउने भनेर ध्यान दिनुपर्ने पनि धारणा राखे । ‘आज पूर्वाधार विकासकै कारण चीनलाई सानो बनाएको छ ।’   

त्यस्तै, उनले विद्युतमा पनि विकास गर्नुपर्ने र नविकरणीय उर्जामा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,‘पर्यटन त नेपालको विकासको आधारस्तम्भ नै भैहाल्यो । चीनमा अहिले मिडल ईन्कम भएकाहरु धैरै छन् । यो संख्या बढेको बढै स्थिति छ, त्यहाँबाट सानो पपुलेशनमात्रै नेपाल भित्र्याउन सकियो भने पर्यटनको क्षेत्रमा धेरै विकास हुन्छ । चीनमा ३० मिलियन त बुद्धधर्म मान्नेहरु छन् । उहाँहरु नेपाल आउन ईच्छुक हुनुहुन्छ । भिजिट नेपाल–२०२० लाई सफल तुल्याउनको लागि भीजन चाहिन्छ । त्यहीअनुसारको तयारी गर्नुपर्छ ।’ 

त्यस्तै उनले सीको भ्रमणको दौरानमा नेपालले लाभ लिने क्षेत्रहरुको पहिचान गर्नुपर्ने बताए । उनले भने,‘ऋणमा फस्ने काम पनि छैन । बढिभन्दा बढि लगानी भित्र्याउनको लागि प्रयास गरौं । पूरानो सन्धि/सम्झौतालाई समयानुकल बनाउने प्रयास गर्नुपर्छ । सीको यो भ्रमणले ऐतिहासिक महत्व बोकेको छ । सारा विश्वले नेपाललाई यतिवेला हेरिरहेको छ । नेपालले आफ्नो तर्फबाट यो भ्रमणलाई सफल तुल्याउनको लागि कुनै कसर बाँकी राख्नुहुँदैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *