अमेरिकामाथि आक्रमणको योजना बनाउने बिन लादेनका छोरा हम्जा लादेनको मृत्यु भएको दाबी
साउन १६, काठमाडाैं । अलकायदा आतंकवादी संगठनका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् ।
उनको मृत्युको खबर सबैभन्दा पहिले एनबीसी र न्यूयोर्क टाइम्सले सार्वजनिक गरेका हुन्। अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ ।
संवाददाताहरूले त्यसबारे बुधवार प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए ।
null
फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो ।
झन्डै ३० वर्ष उमेर भएको ठानिएका हम्जा अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडियो र अडियो रिपोर्ट सार्वजनिक गरेका थिए ।
हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए ।
अलकायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेदार समूह हो।
त्यसैमा दोषी मानिएका ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए ।
उनलाई अलकायदाभित्र आफ्ना पिताको उत्तराधिकारीको रूपमा उदाइरहेको कतिपयले ठान्ने गर्थे । विभिन्न रिपोर्टले उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा बस्दै आएको बताएको थियो ।
सन् २०११ मा ओसामा बिन लादेनको पाकिस्तानस्थित एबटाबाद घरबाट भेटिएका केही दस्तावेजले हम्जा बिन लादेनलाई अल कायदाको नेतृत्वका लागि तालिम दिँदै गरिएको जानकारी पाइएको अमेरिकाले बताएको थियो । – एजेन्सी