वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
“
कार्तिक २९, काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक पाण्डेलाई बुधवार चावहिलबाट पक्राउ गरेको हो ।
मङ्गलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसीलाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेसँगै उनीहरूको बयानपछि महानिर्देशकलाई पक्राउ गरेको हो ।
बयानमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ । मङ्गलवार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आगामी ६ गते अवकाश लिने तयारीमा रहेका पाण्डेलाई बुधवार चावहिलस्थित अम्बे अपार्टमेन्टबाट पक्राउ गरिएको छ ।
“