मानव अङ्ग प्रत्यारोपणमा अन्तर्राष्ट्रियस्तरको सेवा दिने डा. पुकार श्रेष्ठ
“
कात्तिक ३०, काठमाडौं । नेपालमा मानव अङ्ग प्रत्यारोपणको ईतिहास त्यति लामो छैन । नेपालकै पहिलो र ठुलो अस्पताल विर अस्पतालमा सन् १९९८ देखि मृगौलाको डायलासिस गर्न सुरु गरिएको थियो । सन् २००८ बाट परीक्षणका रुपमा मृगौलाको प्रत्यारोपण सुरु गरिएकोमा २०१२ देखि यो सेवा नियमित छ ।
छोटै अबधिमा मानव अङ्ग प्रत्यारोपणमा नेपालले अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सफल भएको छ । नेपाललाई मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गराउनमा महत्वपुर्ण योगदान दिएका छन् डा. पुकार श्रेष्ठले । डा.श्रेष्ठको नेतृत्वमा नेपालमा मृगौला सहित कलेजो, प्याङ्क्रियाज जस्ता अङ्गहरु प्रत्यारोपण हुने गरेको छ ।
हाल भक्तपुर मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक रहेका श्रेष्ठ ६ वर्ष बेलायतमा अध्ययन र काम गरेर केहि वर्ष अघि मात्र नेपाल फर्केका थिए । बेलायतमा आकर्षक अफर छोडेर स्वदेशका लागि केही गर्ने सोच राखेर फर्केका डा. श्रेष्ठको योगदानबाट हजारौं नेपालीले नयाँ जिवन मात्र पाएका छैनन्, नेपालले अन्तर्राष्ट्रियस्तरको उपलब्धि समेत हासिल गर्न सफल भएको छ । डा. श्रेष्ठ तत्कालिन राष्ट्रपति डा. रामबरण यादवबाट उत्कृष्ट स्वास्थ्य सेवाबाट समेत सम्मानित भएका थिए ।
भक्तपुर मानव अङ्ग प्रत्यारोपण केन्द्रले डा. श्रेष्ठको नेतृत्वमा मृगौला अहिले वार्षिक एक सय जना भन्दा बढीको मृगौला प्रत्यारोपण गरिरहेको छ भने सयौं जनाले डायलासिस सेवा लिइरहेका छन् । केही वर्ष अघिदेखि सरकारले मृगौलाको डायलासिस सेवा निशुल्क गरेको थियो । गतवर्ष देखि भने मृगौला प्रत्यारोपण पनि निशुल्क बनाइएको छ ।
तर, नेपालमा वार्षिक तीन हजार जनाको मृगौला फेल हुने गरेको डा. श्रेष्ठ बताउँछन् । नेपालमा पछिल्लो समयमा मृगौला रोगीको संख्या बढ्दै गईरहेको छ । विलासी जीवन शैली, खानपानमा ध्यान नदिने, जथाभावी औषधिको प्रयोग, पिसाव रोकिने समस्या आदी जस्ता कारणले र कतिपयलाई जन्मजात पनि मृगौलाको समस्या देखिने गरेको छ । खासगरि उच्च रक्तचाप र मधुमेहका रोगीलाई मृगौला फेल हुने निकै सम्भावना रहेको डा. श्रेष्ठको भनाई छ ।
नेपालमै अन्तर्राष्ट्रियस्तरको मानव अङ्ग प्रत्यारोपण सेवा शुलभ ढंगले पाएपछि धेरै मृगौला रोगीहरुलाई राहत पुगेको छ । तर, बिरामीहरुको चापका तुलनामा सेवा विस्तार हुन नसक्दा भने धेरै पीडितहरु अहिले पनि महङो मुल्य तिरेर विदेश जानुपर्ने बाध्यता छ भने कतिपय उपचार अभावमा मृत्यु कुर्न बाध्य छन् ।
डा. श्रेष्ठ यो समस्या समाधानका लागि मानव अङ्ग प्रत्यारोपण केन्द्र विभिन्न क्षेत्रमा विकेन्द्रित गर्नुपर्ने बताउँछन् ।
याे लेख कान्तिपुर टेलिभिजनकाे Rise & Shine कार्यत्रफमबाट उद्रित गरिएकाे हाे “