विश्व क्यान्सर दिवस : प्रारम्भिक चरणमा उपचार भए मृत्युदरमा कमी आउँछ

माघ २१, काठमाडौं । आज विश्व क्यान्सर दिवस । म हुँ र म गर्न सक्छु’ भन्ने नाराका साथ नेपाल लगाएत विश्वभर यो दिवस मनाइँदै छ । हरेक वर्ष लाखौं मानिसहरुको क्यान्सका कारणले हुने मृत्युदर कम गर्दै धेरैलाई जागरण र उपचारका माध्यमबाट जोगाउने हेतुले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाउने गरिएको छ ।   

नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर बढेको चिकित्सकहरु बताउँछन् । यसो हुनुमा सरकारी संयन्त्र प्रभावकारी हुन नसक्नु पनि एक हो भन्छन् विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल मोरङका क्यान्सर रोगका विशेषज्ञ डा. सुलभ सापकोटा । उनका अनुसार रोगको प्रारम्भिक चरणमा उपचार हुन सके कसैको मृत्यु हुँदैन । तर, नेपालमा क्यान्सरका बिरामी तेश्रो या चौथो (एड्भान्स) स्टेजमा मात्रै उपचारका लागि अस्पताल पुग्ने भएका कारण क्यान्सबाट हुने मृत्युदरमा कमि नआएको डा. सापकोटाको भनाइ छ ।   

डा. सापकोटाका अनुसार क्यान्सर सम्बन्धि ज्ञानको कमिले पनि यो रोगका बिरामी सुरुकै अवस्थामा अस्पतालसम्म आइपुग्दैनन् । ‘क्यान्सर  रोगको विषयमा ज्ञानको कमिका कारण पनि बिरामीहरु अस्पतालसम्म आउन ढिला गर्छन । क्यान्सरकाे सचेतनाका लागि विद्यालय स्तरबाटै पढाइ हुनु जरुरी छ ।’ डा. सापकोटा भन्छन् । ‘शिक्षाले जागरण लेराउँछ र, आफुलाई भएको समस्या लिएर अस्पताल पुग्न हिचकिचाउँदैनन् बिरामीहरु ।’ डा. सापकाेटाकाे भनाइ छ । 

नेपालमा क्यान्सर राेगकाे पहिचानका लागि सर्वशुलभ सेवा र उपकरण समेत नहुँदा हरेक वर्ष क्यान्सरका विरामी बढ्ने गरेका छन् । ग्रामिण इलाकामा सामान्य स्वास्थ्य चाैकी छन् । तिनमा सामान्य सिटामाेल समेत नपाइरहेकाे अवस्था छ । सरकारले ती क्षेत्रमा क्यान्सर राेग पहिचानका लागि आवश्यक जनशक्ति र उपकरण पठाउन नसकेपनि जिल्ला अस्पतालहरूमा पुर्याए क्यान्सरकाे उपचार र राेकथाममा सहजता आउँथ्याे ।  

‘हाम्रो देशमा सर्वसुलभ रुपमा उपकरणहरु उलव्ध नभएका कारण रोगको पहिचान गर्न समस्या हुँदा पनि रोगीहरुको मृत्यु हने गरेको छ ।’ छिटो र सर्वसुलभ उपचारका लागि पहल गर्न सकियो भने क्यान्सरबाट ज्यान गुमाउनेको दरमा कमि आउनेमा विश्वस्त छन् डा. सापकोटा । त्यसका लागि राज्यस्तरबाट नै पहल हुनु जरूरी छ।   

डा. सापकाेटाका अनुसार ब्लड क्यान्सर, फोक्सोको क्यान्सर, पित्त थैलीको क्यान्सर, प्याङ्क्रियाजको क्यान्सर मुख्यतः जटिल क्यान्सर हुन् । त्यस वाहेक अन्य शरीरमा पनि क्यान्सर हुन्छन् । 

पछिल्लाे समय क्यान्सरकाे केहि हदसम्म उपचार हुन थालेकाे छ । लामाे समय देखि क्यान्सर भइरहेकाे छभने, त्यसलाइ निर्मुल पार्न नसकिए पनि कतिपय क्यान्सर बढ्न नदिने उपचार छ । ‘मनोवलले पनि धेरै हदसम्म काम गर्छ । उपचारमा सहजता आउँछ । बिरामीको मनोवल बढाए केही हदसम्म क्यान्सरसँग लड्न सकिन्छ ।’ डा. सापकाेटा भन्छन् । यसकालागि विरामीलाइ दक्ष चिकित्सककाे काउन्सिलिङ पनि चाहिने उनले बताए । 

विकसित देशमा हुने मानिसकाे मृत्युकाे कारणमा क्यान्सर दोस्रो र विकासशिल देशमा तेश्रो स्थानमा आउँछ । विकासशिल देशमा करिब ७० प्रतिशत मानिसकाे मृत्यु क्यान्सरका कारण हुने गरेको तथ्याङ्क छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *