जल, जमिन हो जङ्गल भनौँ… (गीत)
“
गीत
जल, जमिन हो जङ्गल भनौँ
विश्वमै हामी सम्पन्न छौँ
श्रोतको अभावले होइन है
सोचको कमिले निर्धन छौँ ।
सुन्दर नेपाल अपार
प्राकृतिक श्रोतको मुहान
सब राम्रो भैदिएदेखि
आउने हो सुनौलो बिहान
कला, दर्शन, सभ्यता रच्ने
नेपाली हामी महान्
देशले आज खोजिरहेछ
हामीमा जाँगर र इमान
कृषि, पर्यटन, जडिबुटी भनौँ
उस्तै पौरखीजन छौँ
श्रोतको अभावले होइन है
सोचको कमिले निर्धन छौँ ।
जल, जमिन हो जङ्गल भनौँ
विश्वमै हामी सम्पन्न छौँ
देशको जुहार चिन्नलाई हजुर
तत्वज्ञान चाहिन्छ
देशको मुहार फेर्नलाई मनमा
समर्पण चाहिन्छ
विकासको लक्ष्य केके हो भनी
चिन्तन चाहिन्छ
समृद्ध हुन पलायन होइन
स्वाभिमान चाहिन्छ
नेपाली जीवन, संस्कृति भनौँ
सुखी र प्रसन्न छौँ
श्रोतको अभावले होइन है
सोचको कमिले निर्धन छौँ ।
जल, जमिन हो जङ्गल भनौँ
विश्वमै हामी सम्पन्न छौँ
(आफ्नै भाव आफ्नै परिवेशबाट)
गीतकारः व्याकुल माइला
सङ्गीतकारः शिलाबहादुर मोक्तान
गायकः कुन्ति मोक्तान”