अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारलाई चेम्बर अफ कमर्सको सुझाव
चैत्र ९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई अर्थतन्त्रमा संकुचन आउन नदिन सुझाव दिएको छ ।
कोरोना भाइरस (कोभिड(१९) को विश्वव्यापी संक्रमणले नेपालको समग्र अर्थ व्यवस्थामा आइपरेको असरकाबारेमा चेम्वरले अध्ययन गरिरहेको निवेदन गर्दै यसबाट नेपालमा पर्न सक्ने प्रभावको विश्लेषण गरि अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयूक्त आर्थिक कार्यक्रम ल्याउन नेपाल चेम्बर अफ कमर्सले सूझाव दिएको हो ।
चेम्बर अफ कमर्सले हालको परिस्थितिलाई दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्न पर्ने आयकर तथा मूल्य अभिवृद्धि कर हालको यस विषम परिस्थितिलाई मनन गरी हाललाई समस्याको समायवधि हेरी अल्पकालिन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नु पर्ने जस्तो सुझाव पेश गरेको छ ।
यस्तै, सीमावर्ति भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनु पर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्य अभिवृद्धि कर लिने व्यवस्था हुनु पर्ने, बैंकहरुले ऋणको भुक्तानीको अवधि रि सेडुयुलिङ्ग गर्ने व्यवस्था मिलाउनु पर्ने, वैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको व्याजदरमा कम्तिमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत वैंकबाट सहुलियतको व्यवस्था हुनु पर्ने चेम्बरले जनाएको छ ।
साथै कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायको लागि विशेष सुविधा सहितको प्याकेज ल्याउन समेत चेम्बरले विशेष आग्रह गरेको छ ।