नेपाल मेथोडिष्ट काउन्सिलको गैरकानुनी कामः नैतिक जागरणको नाममा धर्म परिवर्तनको अभियान

पुस १८, काठमाडौं । नेपालमा ईसाई धर्मको प्रचार गर्नकै लागि आएका विदेशी धार्मिक संगठनले नेपालको कानुनको धज्जि उडाउँदै गैरकानुनी काम गर्ने गरेको खुलेको छ । २०५८ सालमा बाइबलको प्रचारप्रसार गर्न र चर्च स्थापना गर्न भनि जिल्ला प्रशासन कार्यालय काठमाडौं र समाजकल्याण परिषद्मा दर्ता भएको नेपाल तरिकाबद्ध परिषद् (नेपाल मेथोडिष्ट काउन्सिल) ले अबैधानिक रुपमा कृयाकलाप गरेको खुलेको छ ।   

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २०५९ भदौ २० गते दर्ता भएको काउन्सिलले मुलुकका विभिन्न भागमा ईसाई धर्मको प्रचारप्रसार गर्ने तथा विभिन्न प्रलोभन देखाएर जवरजस्ती धर्म परिवर्तनको अभियान चलाएको स्रोतको दावि छ ।   

संस्था स्थापना गर्दा वातावरण, स्वास्थ्य र अन्य ग्रामिण विकास कार्यक्रममा काम गर्ने भनिए पनि संस्थाले त्यस विपरित धर्म परिवर्तनको एजेण्डा बोकेको छ । संस्थाले सर्वसाधारण जनसमुहको नैतिक विकास गर्ने, आध्यात्मिक तथा आत्मिक वातावरणको निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै नैतिक जागरणमा भूमिका निर्वाह गर्ने उद्देश्य रहेको बताएपनि नेपालको संविधान विपरित धर्मको प्रचारप्रसारलाई मुख्य उद्देश्य बनाएर काम गरेको छ ।   

परिषद्ले देशका ग्रामिण क्षेत्रमा धर्म परिवर्तनको अभियान चलाईरहेको छ । काठमाडौं सुन्धारामा मुख्य कार्यालय भनेर संस्था दर्ता गरिए पनि अहिले उक्त संस्थाले ललितपुर, ग्वार्को खरिवोटमा कार्यालय राखेर काम गरेको छ ।  

चर्च र रेष्टुरेन्टसँगै 

संस्थाको त्यहाँ कार्यालय, आलिसान रेष्टुरेन्ट र लज समेत छ । उक्त स्थानमा चर्चसमेत सञ्चालन गरेको स्थानीयको भनाई छ । हाङकुक रेष्टुरेन्ट लजमा प्रायः कोरियनहरु आएर बस्ने गर्छन् । ‘यहाँ चर्च र रेष्टुरेन्टसँगै छ । गैरक्रिष्टियन जाँदैनन्, प्रायः विदेशीहरु आएका देखिन्छन् ।’ एक स्थानीयले भने । उनले रातीराती रेष्टुरेन्टमा आवतजावत धेरै हुने समेत बताए ।   

कहाँबाट चल्छ संस्था ? 

परिषद्ले सरकारी, गैरसरकारी ब्यक्ति एवं निकायहरुबाट प्राविधिक तथा आर्थिक सहयोग लिने भनिएपनि संस्थाका पदाधिकारीहरुले गैरकानुनी रुपमा विदेशबाट ब्यक्तिगत सहयोग उठाउने गरेका छन् । संस्थाले अहिलेसम्म कहाँबाट कसरी अनुदान, सहयोग रकम आएको छ सार्वजनिक गरेको छैन । संस्थाका पदाधिकारी भने दशांश, भेटी तथा स्वेच्छिक सहयोगले संस्था चलेको जिकिर गर्छन् । 

स्रोतका अनुसार अहिले परिषद्का पदाधिकारीको ब्यक्तिगत खाता र आइइमई मार्फत विदेशी सहयोग आउने गर्दछ । परिषद्को बर्तमान अध्यक्ष सुर्यकुमार श्रेष्ठले विगतमा धेरै गल्ती भएको स्विकार गरेका छन् । उनले संस्था अपडेट भए नभएको आफुलाई केहि जानकारी समेत नभएको बताए । ‘यतिका बर्षमा केके भयो, खोजेर साध्यै छैन, तपाईहरुले भनि हाल्नु भो अब केन्द्रीय समितिको बैठक बोलाएरै सोधखोज गर्छु ।’ उनले भने ।   

अनुमति नलिई कार्यक्रम 

१८ वर्ष अघि संस्था दर्ता भएर निरन्तर कार्यक्रम चलाउँदै आएको परिषद् अहिलेसम्म समाज कल्याण परिषद्मा कार्यक्रम स्विकृतिका लागि गएको छैन । भने, हालसम्म वार्षिक अडिट पनि बुझाएको छैन । जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा संस्था दर्ता भएपनि हरेक वर्ष नविकरण गर्नुपर्छ भने, आफुले गर्ने कार्यक्रमको बजेट समेत स्विकृति लिनुपर्छ । 

‘नेपाल तरिकाबद्ध परिषद् २०५८ भाद्र २६ गत संस्था दर्ता गरिएपछि एक पल्टपनि पदाधिकारी आएका छैनन् र, संस्था नविकरण पनि गरिएको छैन ।’ समाजकल्याण परिषद्का संस्था दर्ता शाखाका शाखा अधिकृत लालबहादुर विकले बताए । उनले केहि समय अघि संस्थाले के गरिरहेको छ जानकारी लिने कोशिष गरेपनि दर्ता भएको स्थानमा संस्था नै नभेटिएको जिकिर गरे । समाजकल्याण परिषद्मा संस्थाको आबद्धता नं. १२५९३ रहेको छ ।  

समाज कल्याण परिषद्का एक कर्मचारीले कुनैपनि धर्मको प्रचारप्रसार गर्नका लागि संस्था दर्ता गर्न नपाईने बताउँदै तरिकाबद्ध परिषद्ले नेपालको संविधानको उलंघन गरेको बताए । ‘नेपालमा धर्मका नाममा विदेशबाट अरबौं फण्ड गैरकानुनी बाटोबाट आउने गरेको हामीलाई थाहा छ, तरपनि कतिपय अवस्थामा बोल्न सकिएको छैन ।’ उनले नाम उल्लेख नगर्ने शर्तमा भने । ति कर्मचारीले केहि वर्षअघि आफु एउटा कार्यक्रमको सिलसिलामा कोरिया जान लाग्दा केहि क्रिष्टियनका अगुवाले भिसा नै रद्द गर्न दवाव दिएको जिकिर गरे । उनले कुन संस्थाले रोकेको प्रष्ट खुलाउन चाहेनन् । ‘तपाईहरु कुरा बुझिहाल्नु हुन्छ नी ।’ उनले भने ।   

जिप्रकामा पनि छैन नविकरण 

दुई वर्षदेखि संस्था नविकरण समेत भएको छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्थाले ०७४ मंसिर १४ गते आव ०७३/०७४ सम्मको संस्था दर्ता गराएको छ । तर, संस्थाका पदाधिकारी भने संस्था हरेक वर्ष नविकरण गरेर संस्थाकै उद्देश्य अनुरुप काम गरेको दावि गर्छन् । ‘नेपाल मेथोडिस्ट काउन्सिलले समाजकल्याण परिषद् र जिल्ला प्रशासन कार्यालयमा नियमित रुपमा आफ्ना कार्यक्रम र लेखा परिक्षण पेश गरेर नविकरण गरेको छ ।’ संस्थाका सचिब सुवास थापाले बताए । उनले संस्थाले के कार्यक्रम गर्दैछ सबै जानकारी सम्बन्धित निकायलाई बुझाएको जिकिर गरेपनि जिप्रका र समाजकल्याण परिषद्मा संस्थाको विधान र दर्ताका फायल वाहेक केहि छैनन् ।   

सुवास थापाले मकालु खबरसँग संस्थाको कार्यालय कहाँ छ राम्ररी बताउन समेत चाहेनन् । ‘सियोन मेथोडिस्ट चर्च र हाङकुक रेष्टुरेन्ट ग्वार्कोमा छ, म गोठाटार बस्छु, त्यहाँपनि कार्यालय छ ।’ उनले भने ।   

संस्थाको सम्पत्ति ब्यक्तिको नाममा 

०५८ सालमा स्थापना भएको काउन्सिलले आफ्नो संगठन देशभर बनाएसँगै विदेशबाट गैरकानुनी रुपमा करोडौं डलर सहयोग समेत भित्र्याएको स्रोतको दावि छ । संस्थाले काठमाडौं, नुवाकोट, धादिङ, झापा, सुनसरी, मोरङ, पूर्वी पहाडी जिल्ला र पश्चिम नेपालका दुरदराजमा समेत चर्च र बाइबलीय प्रचारको अभियान चलाइरहेका छ । साथै  विभिन्न स्थानमा जग्गाजमिन समेत जोडेको छ । उसले त्यसको रेकर्ड समाज कल्याण परिषद्लाई दिएको छैन । संस्थाका पदाधिकारी समेत संस्थाका बारेमा जानकारी दिन चाहँदैनन् ।   

सामाजिक, शैक्षिक कार्यक्रम चलाउन भनेर स्विकृति पाएको संस्थाले चर्च खोलेकोमा अधिकांश चर्च खोलिएका स्थानका जग्गा संस्थाकै नाममा छ । कतिपय संस्थाका नाममा खरिद गरिएका सम्पत्तिहरु ब्यक्तिका नाममा नामसारी गरिएका छन् । स्रोतका अनुसार संस्थामा अध्यक्ष भएर आएकाहरुले संस्थाको जग्गाजमिन आफ्नो नाम र अन्य संस्थाका नाममा विक्रि/दान गरिदिएका छन् ।   

समाज कल्याण परिषद्का अधिकारीहरुले भने, नेपाल मेथोडिष्ट काउन्सिलका सन्दर्भमा छानविन गर्ने बताए ।   

सियोन स्कुल डाइरेक्टरको नाममा 

धरानमा परिषद्को नामको जग्गामा सियोन मेथोडिस्ट चर्च र स्कुल भएपनि कसैलाई थाहै नदिई जग्गा स्कुललाई दिइएको छ । चर्चकै ब्यवस्थापनमा चलेको स्कुललाई तत्कालिन परिषद्का अध्यक्ष खड्ग थापा मगरले रातारात स्कुलको नाममा पारेको दावि छ । उनले स्कुल समेत निजी बनाएपछि विवाद उत्पन्न भएको छ ।   

विदेशी दाताको सहयोगमा स्थापना भएको स्कुल ब्यवस्थापन समिति र दाताहरुलाई समेत थाहै नदिई डाइरेक्टरले आफ्नो नाममा नामसारी गरेको आरोप छ । यद्यपी, यो विषय बाहिर आएपछि उनले चर्चकै केहि ब्यक्तिहरुसँग २० वर्षपछि स्कुल हस्तान्तरण गर्ने कागज गरिदिएका छन् । १३ वर्षअघि विद्यालय स्थापना गर्न जग्गा र भवन निर्माणमा दुई करोड बढि रकम सहयोग गर्ने कोरियन नागरिक लि र उनको टीमलाई समेत थाहै नदिई डाइरेक्टर थापा मगरले स्कुल आफ्नो नाममा नामसारी गरेको आरोप छ ।   

स्कुल स्थापनाकालदेखि सँगै काम गरेका स्कुलका पब्लिक रिलेसन अफिसर मेहरमान ह्युज लगायतलाई थाहै नदिई डाइरेक्टरले नामसारी गरेपछि किचलो शुरु भएको थियो । मेहरमानले पटक–पटक स्कुललाई संस्थाको नाममा नामसारी गर्न र पारदर्शी रुपमा चलाउन आग्रह गरेपनि डाइरेक्टरले अटेर गरेको उनको आरोप छ ।   

स्कुल खोलिनु पूर्व सियोन मेथोडिस्ट चर्च स्थापना गरिएको थियो । सन् २००४ मा धरान १० मुनालपथमा भाडाको घरमा चर्च स्थापना गरिएकोमा चर्च सञ्चालन गर्न कतार बस्दै आएका कोरियन नागरिक लीले खड्ग थापा मगरलाई मासिक तलब र घरभाडा दिँदै आएका थिए । पछि उनैले सन् २००८ मा जग्गा खरिद गर्न ४२ लाख रुपैंया पठाएपछि धरान–१६ मा ७ कठ्ठा १४ धुर जग्गा खरिद गरिएको थियो ।   

गैरकानुनी रुपमा भित्रिएको २ करोड २२ लाख 

नेपालमा कानुनी रुपमा चर्च दर्ता गर्न नमिल्ने प्रावधान भएपछि उक्त जग्गा नेपाल मेथोडिस्ट काउन्सिल (नेपाल तरिकाबद्ध परिषद्) का नाममा पास गरिएको थियो । त्यसपछि जग्गामा टिनले बारेर संगति शुरु गरिएको स्वयं स्कुलका डाइरेक्टर खड्ग थापा मगर बताउँछन् । ‘मिस्टर ली मेरो नजिकको मित्र हुनुहुन्थ्यो, उहाँसँग मेरो कतारमा हेभी ड्राइभरको काम गर्दागर्दै चिनजान भएको हो । र, म नेपाल आएपछि चर्च र स्कुल खोल्न लीले सहयोग गर्नुभएको हो ।’ मगर भन्छन् ।   

चर्च स्थापना भएपछि एकाध दुुई पल्ट ली आफैं नेपाल आएर चर्चको अवस्था निरीक्षण गरेका थिए । पछि लीले उक्त स्थानमा बाइबल प्रचारप्रसारका लागि संस्था गरी सीपमुलक कार्यक्रम पनि चलाउन सकिने आइडीया दिए । तर, नेपालको कानुनले बाइबलको त्यसरी प्रचारप्रसार गर्न दिँदैनथ्यो । खड्ग थापामगर, मेहरमान तथा हाल हङकङमा रहेका एल्डर योगेन्द्र लिम्बुले कोरियन नागरिक लीलाई गरिब बालबालिकालाई पढाउन र संरक्षण गर्न स्कुल खोल्न सहमति गराए । त्यसपछि ली कतार फर्किएर त्यहाँका विभिन्न ब्यक्तिहरुबाट सहयोग जुटाएर पटक–पटक गरी एक करोड ८० लाख रुपैंया सहयोग गरे । र, त्यहि पैसाबाट विद्यालय स्थापना गरिएको थियो । स्कुल र चर्च सम्पन गर्न खड्ग थापा मगरले आइएमइ र हुण्डी मार्फत ४२ लाख र एक करोड ८० लाख आएको स्विकार गरेका छन् ।   

लेटाङ घर भएका थापा धरान सन् २००१ मा आएका हुन् । बैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा उनी नेपाली चर्चमा पास्टर थिए । त्यहिँ रहँदा उनको कोरियन नागरिक ली सँग सम्पर्क बढेको थियो । नेपाल मेथोडिष्ट काउन्सिलको जग्गा जग्गा स्कुलको नाममा नामसारी गर्ने बेला परिषद्को अध्यक्ष स्वयं खड्ग थापा मगर थिए । ‘उनले परिषद् बाट आफैंले निर्णय गरी जग्गा आफ्नो नाममा नामसारी गरेका हुन् ।’ स्रोत भन्दछ । 

परिषद् बाट स्कुलको नाममा जग्गा नामसारी गर्दा परिषद् बाट हर्ताकर्ताका रुपमा आएका थिए, संस्थाका संस्थापक अध्यक्ष सुमन गौतम । संस्था दर्ता गर्दाका अधिकांशलाई धरानको जग्गा स्कुललाई दिइएको थाहा छैन । परिषद् स्थापना गर्दा सुमन गौतमसँगै त्रिख्न महर्जन, गणेशमान महर्जन, राजन न्यौपाने, चन्द्र बहादुर राई, मकमध्वज राई, हरि कुमार खाति थिए । सुमन गौतम लामो समय कोरिया बसेर त्यहिँ पिएचडी गरी कोरियन युवतीसँग विवाह गरी नेपाल आएर पुनः इसाई धर्मकै प्रचारक भएर बसेका छन् । उनको आम्दानीको स्रोत समेत अपुष्ट रहेको भनिएको छ । उनी अहिले ललितपुर सुनाकोठी स्थित नेपाल मेथोडिष्ट टेक्नोलोजिकल सेमिनारीका एकेडेमिक डीन छन् ।   

बाइबलको प्रचार गर्न आएको प्रोजेक्टबाट विद्यालय 

जग्गा खरिद गरेको तीन वर्षपछि कतार मिसन सेन्टर (क्यूएमसी) मार्फत कतारमा होटल तथा कन्ट्रक्सन चलाउने कोरियन नागरिक ली लगायतको टोलीले भवन बनाउन सहयोग गरेको हो । ‘शुरुमा ती कोरियन नागरिकको समुहले पहाडबाट गरिबका छोराछोरीलाई ल्याएर सीपमुलक तालिम दिनु र बाइबलको प्रचार गर्नु भनेको थियो । तर, नेपालको कानुनले धर्म प्रचार गर्न नपाउने भएकोले पछि उसलाई स्कुल खोल्न अनुरोध गरियो ।’ स्वयं खड्ग थापामगर भन्छन् । 

त्यसपछि लीको समुहले कतार मिशन सेन्टरबाट सोझै खड्ग थापा मगरका नाममा आइएमइ मार्फत पटकपटक गरी एक करोड ८० लाख रुपैंया पठाएको छ । ‘मेरो आफ्नै बलबुतामा यो पैसा आएको हो, म कतारमा रहँदा ली सँग राम्रो सम्बन्ध थियो, पछि नेपाल आएपछि मेरै अनुरोधमा यो प्रोजेक्ट आएको हो ।’ डाइरेक्टर थापा मगर स्विकार्छन्–‘१ करोड ८० लाखले भवन तयार हुनै सक्दैनथ्यो, कसैले लगानी गर्ने आँट नगरेपछि मैले मेरो सम्पत्ति विक्रि गरेर लगानी गरेको हुँ, आफ्नै छोरी ज्वाईबाट समेत लाखौं रुपैंया चर्को ब्याजमा लिएको छु ।’ उनी भन्छन् ।   

उनले संस्थाको नाममा बैंकबाट ऋण लिन नपाउने भएपछि आफ्नो नाममा स्कुल ल्याएर वाणिज्य बैंकबाट ऋण लिएको जिकिर गरे । परिषद्को नाममा रहेको ७ कठ्ठा १४ धुर मध्ये ६ कठ्ठा ३ धुर जग्गा स्कुलको नाममा नामसारी गरिएको छ । बाँकी जग्गा चर्चको नाममा छ । स्रोतका अनुसार चर्चका पास्टर थापा मगरले चर्चको भेटी र आम्दानी समेत आफैं लिने गरेका छन् । उनले आफुले अहिलेसम्म स्कुलबाट एक सूको तलब नलिएको बताउँदै चर्चबाट मासिक १५ हजार तलब लिने गरेको जिकिर गरेका छन् ।   

परिषद्को जग्गा स्कुलको नाममा आएपछि सोधखोज भयो । ‘संस्थाको जग्गा हो ब्यक्तिको नाममा गर्न मिल्दैन’ भनेर विरोध भएपछि पास्टर मगरले ह्युजसँगै अन्य केहिलाई चर्च र स्कुलबाट निकालिदिएको स्रोतको दावि छ । चर्चबाट पास्टर, एल्डर, डिकन र प्रचारिका गरी एक सय जना बढि निस्किएका छन् ।   

स्रोतका स्कुलको विवाद मिलाउन पाष्टर मणी राईको संयोजकत्वमा समिति गठन गरिएको छ जसले मेहरमान पक्षलाई २५ लाख दिने प्रस्ताव गरेका छन् । मेहरमान पक्षले भने आफुले पैसा नचाहेको तर, संस्थाको सम्पत्ति संस्था मै आउनुपर्ने अडान राखेको छ । यता खड्ग थापामगर पक्षधरले ह्युजले स्कुलमा अनावश्यक विवाद सृजना गरेको, संस्थाबाट मोटो रकम माग गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *