शक्ति प्रदर्शन समवेदनामा परिवर्तन
“
किशोर खनाल
भरतपुर, मंसिर ५ । बाम गठबन्धनले देशव्यापी रुपमा चुनावी सभा आयोजना ग¥यो । चुनावी सभा शक्ति प्रदर्शनको रुपमा पनि लिइएको थियो । बाम गठबन्धनले मंसिर ५ गते भरतपुरमा वृहत आमसभाको मिति तोक्यो ।
चितवनमा हुने बाम गठबन्धनको आमसभाको तयारी गर्दागर्दै नेपाली राजनीति वृत्तमा एउटा दुःखद घटना घट्यो, त्यो घटना प्रचण्डपुत्र प्रकाश दाहालको निधन थियो । मंसिर ५ गते चुनावी सभाको मिति तोकिएको छ, ३ गते प्रकाश दाहालको निधन भयो ।
चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरपुरको केन्द्रीय बसपार्कमा हुने ५ गतेको सभा हुने नहुने चर्चा परिचर्चा हुन थाल्यो । आमसभा हुने क्षेत्र पुष्पकमल दाहालले उम्मेदवारी दिएको क्षेत्र हो । स्थगित हुनै लागेको आमसभा अन्ततः पुष्पकमल दाहालकै सक्रियतामा भयो । शक्ति प्रदर्शन भनिएको चुनावी सभा समवेदनामा परिवर्तन भयो ।
कार्यक्रममा शोकाकुल परिवारजनका सदस्यहरु उपस्थित भएका थिए । सभाले शोकाकुल परिवारलाई शक्तिमा बदल्यो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, उनकी धर्मपत्नी सीता दाहाल, छोरी रेणु दाहाल र प्रकाशकी श्रीमती बिना मगर पनि सहभागी थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रचण्ड उपस्थित भए पनि बोल्न सकेनन् । पुत्रशोकपछि सार्वजनिक सभामा उपस्थित भएका प्रचण्डको यो कार्यक्रम नै पहिलो हो ।
पुत्रशोकमा परेका दाहाल परिवारसहित उपस्थित हुँदा उनको आत्मसाहसलाई सबैले सम्मान गरेका थिए । प्रचण्डकी धर्मपत्नी सभामा लामो समयसम्म बस्न सकिनन् । उनले आफूलाई समाल्न सकेकी थिइनन् । आँखाभरि आँसु टिलपिलाएको थियो । प्रकाशकी श्रीमती बिना मगर केहीबेर सभामा बसेकी थिइन् । प्रचण्ड छोराको शोकका कारण गहिरो पीडा र भारी मन लिएर सभामा उपस्थित भएका थिए । श्रीमती बिनाको आँखाभरि आँसु देखिन्थे । बेलाबेला आँसु झरिरहेको थियो ।
सभामा बोल्ने स्थानीय नेतादेखि प्रमुख अतिथि केपी शर्मा ओलीसम्मले प्रचण्डलगायत शोकाकुल परिवारलाई समवेदना दिएका थिए । प्रकाशको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । मञ्चमा उपस्थित नेताहरुले स्व. प्रकाशको तस्बिरमा माल्यार्पण गरेका थिए । १ मिनेट मौनधारण गरिएको थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रकाशको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनलाई समवेदना दिए । उनले भने, ‘प्रकाश नयाँ सपना बोकेको युवा थिए ।’ उनले हुने कुरा भइसक्यो, अब धैर्यधारण गर्नेबाहेक अरु कुनै विकल्प नभएको बताए । ‘पुत्रशोकमा प्रचण्डले जुन धैर्य र संयम देखाउनुभएको छ, त्यसको लागि उहाँलाई सलाम छ’ ओलीले भने, ‘यस्तो दुखद् परिस्थितिमा पनि उहाँले देशको लागि जुन दत्तचित्त देखाउनुभएको छ, त्यो असाधारण खालको छ ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा बादलले एउटा प्रकाश गए पनि हजारौं जीवनलाई जन्माएको बताए । उनले भने, ‘प्रकाशको मृत्युले देशलाई झन् शक्तिशाली बनाएको छ, विजयलाई जन्माएको छ ।’ उनले प्रकाशले एउटा बाटो बनाएर गएका र त्यो बाटोमा सबैलाई हिँड्न प्रेरित गरेको बताए ।
पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नम्बर १ का उम्मेदवार सुरेन्द्र पाण्डेले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताए । उनले शोकाकुल परिवारलाई समवेदना प्रकट गरेका थिए ।
चितवन क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोख्रेलले एकमात्र छोराको निधनमा पनि देश र जनताको लागि समर्पित हुँदै साहस देखाएका प्रचण्डको प्रशंसा गर्दै भने, ‘यस्तो बाबु कुन हुन सक्छ ?’ भोजपुरी गायक गोपाल ठाकुरले गीतमार्फत प्रकाश दाहाललाई सम्झेका थिए ।
२०३८ साल असार १७ गते भरतपुर–१४ भीमसेननगरमा जन्मेका प्रकाशको मंसिर ३ गते बिहान हृदयघातबाट निधन भएको थियो । २०५२ सालमा तत्कालीन माओवादीमा आबद्ध भएर परिवारसँगै भूमिगत जीवन बिताएका प्रकाश हाल माओवादी केन्द्रको पोलिट्व्युरो सदस्य थिए । २०५७ सालबाट सक्रिय राजनीति सुरु गरेका प्रकाश प्रचण्ड छायाको रुपमा रहेका माओवादी केन्द्रका नेता सूर्य सुवेदी पथिकले बताए । प्रचण्ड दुई चोटी प्रधानमन्त्री हुँदा प्रकाशले प्रधानमन्त्रीको सचिवालयको जिम्मेवारी लिएका थिए ।
“