टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा

 

चैत्र २८, काठमाडौं । आगामी बैशाख १ गतेदेखि बैशाख ४ गतेसम्म मनाउने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै टोखा विस्केट जात्रा मुल व्यवस्थापन समितिले बैशाख १ गतेबाट बैशाख ४ गतेसम्म चल्ने जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

जात्राको बारेमा प्रचार–प्रसार गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै टोखा नगरपालिकाकी उप–प्रमुख ज्ञानमाया डंगोलले ऐतिहाँसिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा टोखा नगरवासीकोमात्र नभएर देशकै गहनाको रुपमा रहेको स्पष्ट पारिन् । 

null

टोखालाई चाकुको राजधानीको रुपमामात्र नहेरेर मौलिक परम्परादेखि चल्दै आएको नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमा बुझ्नपनि आवश्यक रहेको उनले बताईन् । जात्रा व्यवस्थापनको लागि मूल समिति तथा उप–समिति गठन भैसकेको छ । उनले उक्त जात्रा सम्पन्न गराउन नगरपालिकाले बजेटको बिनियोजन पनि गरिसकेकोे बताईन् । 

सपनतिर्थ मन्दिर परिसरको त्रिवेणी र दूधबेनी खोलाको संगम स्थललाई थुनेर बनाईएको पोखरीमा स्नान गर्दा कुष्ठ तथा चिलाउनेजस्ता रोगहरुको पनि निराकरण हुने उनले विश्वास दिलाईन् । ‘स्वयम् मैले पनि यसबारेमा महशुस गरेको छु ।’  वैभवशाली गर्विलो इतिहास बोकेको जात्रा भएपनि अहिलेको पुस्ताले जगेर्ना गर्न अग्रसर नभएकोमा उनले गुनासो पोखिन् । 

टोखाको बिस्केट जात्राको जगेर्ना गर्न, पर्यटकको सम्भावनालाई मध्यनजर गर्दै जात्रामा उल्लेखनीय सहभागी हुन र यस्ता परम्पराहरुलाई निरन्तरता दिनु आजको आवश्कता भएको पनि उनले उल्लेख गरिन् । 

नेवा गुठिका सल्लाहकार गणेशमान श्रेष्ठले ऐतिहाँसिक नगरीमा मनाईने जात्राको आफ्नै महत्व रहेको बताए । बिस्केत जात्रा टोखाले पाएको मौलिक अधिकार रहेको भन्दै उनले जात्रालाई निरन्तरता र मौलिकता दिन सबैको दायित्व भएको धारणा राखे ।  

उनले परापुर्वककालदेखि चल्दै आएको जात्रालाई आमा, बुवा र छोराबीचको जात्राको रुपमा पनि चित्रण गर्न सकिने स्पष्ट पारे । अहिलेको नयाँ पुस्तालाई आफ्ना मौलिकतामा रुचि हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । 

पुरानो मुल्य र मान्यतालाई अहिलेको नयाँ पीढीले सम्हाल्न नसकेको आरोप लगाउदै उनले युवा र बृद्धबीच बेमेल हुँदा जात्रामा किचलो अथवा द्वन्द्व पैदा हुनेपनि तर्क गरे । बिगतमा हुने जात्राभन्दा यसपटकको जात्रालाई ब्यवस्थित पार्न खोजिएको जानकारी गराउँदै उनले नेवा गुठिले यसको सम्पुर्ण जिम्मेवारी लिईसकेको प्रष्ट पारे । 

नेवा गुठिका उपाध्यक्ष सत्यनारायण उपाध्यायले बैशाख ३ गते नेपाल सरकारका मन्त्री र काठमाडौं उपत्यकाका सम्पुर्ण मेयर तथा उप–मेयरहरुको सहभागिता रहने बारेपनि जानकारी दिए । 

यसपटकको बिस्केट जात्रामा दुई लाखले अवलोकन गर्ने अनुमान रहेकोे बताउदै उनले जात्रालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न करिव तीन सयभन्दा बढि स्वय्मसेवक, नेपाल प्रहरी, स्काउट र गुठीका पदाधिकारीहरुको उपस्थिति रहनेपनि छ । टोखा नगरपालिका वडा नम्वर २ का अध्यक्ष दिपकराज जोशी, वडा नम्बर ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *