‘कर्णाली मष्टो’ लाई बेष्ट फिल्म अवार्ड
“
मङ्सिर ९, काठमाडौँ । मध्य तथा सुदुर पश्चिमका मानिसले मान्ने कुल देवता मष्टोको बारेमा तयार गरिएको कर्णाली मष्टो फिल्मले बेष्ट फिल्म अवार्ड पाएको छ । लोक बाजा संग्रालयले आयोजना गरको सातौ अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म महोत्सवमा एलपी देवकोटाले निर्देशन गरेको कर्णाली मष्टोले बेष्ट नेपाली फिल्म अवार्ड पाएको हो । यो कर्णालीबाट बनेको पहिलो लोक सङ्गीत फिल्म हो ।
नेपाली भाषा संस्कृतिको उद्गम स्थल कर्णालीको श्रीजनामा यो फिल्म तयार गरिएको हो । नेपालको तर्फबाट बेष्ट फिल्म अवार्ड प्राप्त गरेको कर्णाली मष्टो फिल्मलाई एलपी देवकोटाले निर्देशन गरेका छन् भने प्रकाश उपाध्यायले छायाङ्गकन गरेका हुन् । यसमा धामीहरुले धानमा नाच्ने नाच प्रस्तुत गरिएको छ । लोप हुन लागेको सुनाइ, दमाहा, झ्याली लगायतका बाजाहरुको पनि प्रयोग गरिएको छ ।
मङ्सिर ६ गते बाट काठमाण्डौको राष्ट्रिय नाचघर जमलमा सञ्चालन भएको अन्तर्राष्ट्रिय फिल्म महोत्सव शनिवार समापन भएको छ । लोक गीत, लोक सङ्गीत, लोकबाजा, लोक संस्कृति, परम्परा, लोक जीवनका विविध पक्षको अध्ययन अनुसन्धान सँगै प्रचार प्रसार गर्न लोकबाजा संग्रालयले अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा विश्वका विभिन्न १८ मुलुकमा बनेका लोक सङ्गीतसँग सम्बन्धित ३२ वटा फिल्म प्रस्तुत गरिएको थियो । त्यस मध्यका केही उत्कृष्ट फिल्महरुलाई विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको छ ।
समापनका क्रममा प्रा.डा.तुलसी दिवसलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
“