बाह्य सामानमा अत्याधिक कर नलाए स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न गाह्रो छ
अध्ययन र रोजगारीको शिलशिलामा विराटनगर आएका चेतन निरौला अहिले पूर्व क्षेत्रकै परिचित र स्थापित उद्योगी हुन् । उनी मध्यम वर्गिय परिवारमा २०३० सालमा जन्मिएका हुन् ।
निरौलाले विराटनगरमा २०५२ सालमा यहाँको जुत्ता चप्पल उद्योगमा उद्योग सञ्चालन गर्ने तरिका सिके । अहिले उनी आफैं जुत्ता चप्पलको उद्योग सञ्चालन गरिरहेका छन्।
निरौलाले विराटनगरका प्रा.डा अर्जुनप्रसाद बरालको प्रेरणा र आर्थिक सहयोगमा उद्योग थालेका हुन् । एक लाख रुपैयाँको लगानीमा २०६२ सालदेखि औपचारिक रुपमा जुत्ता चप्पल उद्योग सञ्चालन गर्न थालेका हुन् । उनको उद्योगद्धारा उत्पादित ग्यालेक्सी शुजले यतिबेला पूर्वमा निकै राम्रो बजार ओगट्न सफल भएको छ ।
null
ग्यालेक्सी शुज उद्योग विराटनगरका प्रमुख तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका कार्यबाहक अध्यक्ष समेत रहेका चेतन निरौलासँग व्यवसायीक सफलता र घरेलु तथा साना उद्योगीका समस्याका विषयमा मकालु संवाददाता किशोर विश्वकर्माले गरेको कुराकानी:
तपाई झापाको मान्छे । कसरी सुरु गर्नुभयो विराटनगरमा उद्योग ?
मेरो जन्म थलो झापा हो । मैले १२ कक्षा सम्मको अध्ययन भद्रपुरबाट गरेँ । २०५२ सालमा उच्चशिक्षा अध्ययनको शिलशिलामा म विराटनगर आइपुगेको हुँ ।
हाम्रो मध्यम वर्गिय परिवार भएकाले मैले आफ्नो खर्च धान्नुपर्ने बाध्यता पनि थियो । त्यसैकारण मैले विराटनगरको एउटा छालाको जुत्ता चप्पल उद्योगमा सोनो तिनो जागिर पाएँ । जसले मलाई काम सिक्ने अबसर मिल्यो । करिब १ वर्षको अवधिमा मैले उद्योग सञ्चालन सम्बन्धि धेरै ज्ञान हासिल गरें ।
त्यसैले आफैंले थोरै लगानीबाट व्यवसाय सञ्चालन गर्नुपर्याे भनेर पैसा भेला पार्न थालेँ । मसँग करिब एक लाख रुपैयाँ थियो । त्यहि पैसाले मैले लगानी गरेर व्यवसाय सञ्चालन गरेको हुँ । ०६२ सालदेखि दर्ता गरेर औपचारिक रुपमा सञ्चालन गरेको हो । सुरुसुरुमा त मलाई निकै गाह्रो नै भयो ।
हाम्रो घरेलु उद्योग भएकाले तीन जना मात्र कालिगढ थिए । यस मध्येको म पनि एउटा कालिगढ हुँ । पहिले मेरो विराटनगर मात्र बजार थियो । अहिले पूर्वाञ्चल र पश्चिमका जिल्लाहरुसम्म बजार विस्तार भईसकेको छ ।
सुरुवाति अवस्था चाँहि कस्तो रह्यो ?
सुरुवाती दिनहरुमा मलाई निकै गाह्रो भयो । निकै दुःखका साथ सुरु गरेको थिएँ । फेरि अर्को कुरा नयाँ नयाँ पनि थिएँ जोखिमको अवस्था पनि थियो । कडा प्रतिस्पर्धाको अवस्था पनि थियो । बजार विस्तारका लागि थोरै पुँजीबाट सञ्चालन गरेको भएपनि बजारमा उधारो सामान दिनै पर्ने बाध्यता थियो । मैँले निकै कडा परिश्रम गरेँ र आज यो अवस्थासम्म आइपुगेको छु ।
त्यो अवस्थादेखि हालसम्म आइपुग्दा अाफूलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
हामीले दृष्टि परसम्म पुर्याउनुपर्ने रहेछ । लक्ष्य ठुलै राख्नुपर्ने रहेछ । अनिमात्र थोरै भएपनि उपलब्धी हासिल हुने रहेछ । अहिले मेरो ग्यालेक्सी शुज उद्योगमा २० जनाले काम गरिरहेका छन् । अझ थपिँदै पनि छन् । उत्पादन बढाएको छु । समग्रमा मैँले अझ मेहनत गर्नुपर्छ जस्तो लाग्छ ।
अहिले तपाईंको बजारको अवस्था कस्तो छ ?
पहिले मैँले ट्रेडमार्क लिएर जाँदा पत्याउँदैन थिए । तर अहिले मेरो उद्योगबाट उत्पादित सामानहरुले बजार ओगट्न सफल भएको छ । पुर्वाञ्चलमा मात्र १ सय भन्दा बढि उद्योगहरु सञ्चालनमा रहेका छन् । त्यस्ता उद्योगहरुका बिचमा हाम्रो उत्पादनहरु ग्राहकको रोजाइमा पर्छन् ।
तपाईंको उद्योगबाट कस्ता वस्तुहरु उत्पादन भइरहेका छन् ?
हामीले खास गरेर हाम्रो उद्योगमा स्कूलका सुज, क्याजुअल सुज, पार्टि सुज, टप बुट, सावरका सुजहरु, लेडिज सेण्डलहरु लगायत बजारको माग अनुसार उत्पादन गरिरहेका छौं ।
कच्चा पदार्थ कहाँ–कहाँ बाट आयात गर्नुहुन्छ ?
कच्चा पदार्थ स्वदेशमा पाईंदैन । हामीले मुख्य गरेर चाइनिज आइटमहरु काठमाडाैँ र छिमेकी मुलुक भारतबाट पनि कच्चा पदार्थ आयात गर्ने गरेका छौं ।
कामदारको अभाव छ कि छैन ? कामदारहरुको अभावको पूर्ति कसरी गरिरहनु भएको छ ?
हामीलाई स्वदेशी कामदारको अत्यन्त अभाव छ । हाम्रो जस्तो उद्योगमा ७० देखि ७५ प्रतिशत भारतीय कामदारले नै काम गरिरहेका छन् । बाँकि २५ देखि ३० प्रतिशतसम्म कामदारहरु मात्र नेपाली छन् ।
जनशक्तिको अत्यन्तै अभाव छ । यो काम सिकेर गर्ने हो भने कामदारको गुजारा राम्रै सँग चल्छ । हाम्रो तलब सिस्टम हुँदैन । प्रतिगोटाका दरले हामी ज्याला दिने गरेका छौँ । कुनै समय सिमा छैन । जतिबेलासम्म काम गर्छु भन्दा पनि हामी नाइँ भन्दैनौँ ।
प्रतिगोटाका दरले काम गर्ने भएकाले १ जनाले दैनिक न्यूनतम १ हजार देखि १५ सय रुपैयाँ समेत कमाउन सक्छन् । कामदारको अभाव भइरहेकाले यो काम सिक्ने हो भने कोहि पनि बेरोजगार बस्नु पर्दैन । सरकारले बेला बेलामा यस्तो तालिम त सञ्चालन गर्ने गरेको छ । तर त्यो केवल तालीममै मात्र सिमित भएको छ ।
त्यसले कुनै उपलब्धी हासिल हुँदैन । किनकि, त्यो तालिम छोटो अवधिको हुन्छ । यो काम सिक्नलाई कम्तीमा पनि ६ महिनादेखि १ वर्षसम्म लाग्छ । त्यसैले सरकारले लगानी गरेर तालिम सञ्चालन गर्छ भने हामीसँग समन्वय गरोस् । त्यसले नतिजा ल्याउनेछ र बेरोजगारीको समस्या पनि न्यूनिकरण हुन्छ ।
सकारले यस्ता घरेलु उद्योगको विकास र संरक्षणका लागि के गरेको छ ?
सरकारले केही पनि गर्न सकेको छ जस्तो मलाई लाग्दैन । सरकारले करमाथि कर लगाएको छ । लक्षित वर्गलाई उपलब्धिमुलक तालिम दिन सकेको छैन । हामीलाई भन्सार महशुलमा निश्चित समयसम्मका लागि छुट दिनुपर्छ ।
नेपाली घरेलु तथा साना उद्योगहरुको संरक्षण र बेरोजगारी समस्या न्यूनिकरणका लागि सोही अनुसारको नीति बनाउनुपर्छ । विदेशी उत्पादनहरुसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ ।
तपाईंहरुकाे समस्या चाहिँ के-के छन् ?
मुख्य कुरो त उद्योग दर्ता प्रकृयानै झन्झटिलो छ । त्यसमा पनि दोहोरो तेहेरो दर्ता गर्नुपर्ने नियम छ । दक्ष जनशक्तिको अभाव छ । देशलाई लोडसेडिङ मुक्त भनिए पनि लोडसेडिङ भइरहेकै छ ।
बैंकहरुले घरेलु तथा साना उद्योगहरुलाई ऋण दिन आनाकानी गर्ने गरेका छन् । ढुवानी गर्ने ठाउँमा सडकको अवस्था जिर्ण छ । ट्रेड मार्क र लोगो लिन समेत समस्या छ । खुल्ला सीमानाका कारण प्रतिष्पर्धामा निकै समस्या छ ।
केही ठूला उद्योगहरुले भारतीय र चाइनिज उत्पादनहरु ल्याएर आफूले उत्पादन गरेको भनेर ट्रेडमार्क लगाएर बजारमा बिक्रि वितरण गरेको पाइन्छ । जसका कारण उनीहरुले ठूलै मुनाफा आर्जन गर्ने गरेका छन् । हामीले उत्पादन गरेका जुत्ता चप्पलहरु गुणस्तरीय भएपनि प्रतिस्पर्धा गर्न गाह्रो छ ।
मुलुकमा लामो समयपछि स्थिर सरकार बनेको छ । बलियो भनिएको यो सरकारबाट कस्तो अपेक्षा गर्नु भएको छ ?
हामीले सधैँ चाहेको स्थिर सरकार हो । स्थिर सरकारले मात्रै धेरै समयसम्म काम गर्न सक्ने भएकाले सबै क्षेत्रका समस्या विस्तारै समाधान हुँदै जानेछन् । लोडसेडिङलगायतका समस्याहरु समेत समाधान हुँदै जाने हाम्रो अपेक्षा छ ।
अहिले तीनवटै तहको निर्वाचन सम्पन्न भएकाले स्थानीय, प्रादेशिक तथा संघीय सरकारले स्वदेशी उद्योग कलकारखानालाई प्रोत्साहन गर्ने विषेश नीति ल्याउनेमा आशावादी छौँ ।
स्वदेशी उद्योग व्यवसाय फस्टाउनका लागि राज्यले के गर्नुपर्ला ?
प्रथम कुरा उद्योग दर्ता प्रकृया सहज बनाइनु पर्छ । दक्ष जनशक्ति उत्पादन गरिनुपर्छ । स्वदेशी उद्योग फस्टाउन सरकारले विभिन्न किमिका नीति बनाउनुपर्छ । विदेशी उत्पादनमा भन्सार शुल्क अधिक लिनुपर्दछ ।
चोरी निकासी पैठारी निर्मुल हुनुपर्छ । उद्योग व्यवसायका क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द हुनुपर्दछ । स्वदेशी उद्योग व्यवसाय फस्टाउन प्रथमत स्थानीय उत्पादनलाई सबै तह र तप्का, निकायहरुले खरिद गर्नैपर्ने व्यवस्था सरकारी नियममै सामेल गर्नुपर्छ ।
उद्योग गरिएको पुँजी लगानीलाई आधार मानि उद्योग वर्गीकरण गरि कर शुल्क निर्धारण, स्थापनाको निश्चित वर्षसम्म सबैखाले करमा छुट, उद्योगका लागि आयात हुने सबैखाले कच्चा पदार्थमा छुट गरिनुपर्छ ।
घरेलु तथा साना उद्योगले मुलुकमा रोजगारीको ठुलो अवसर सृजना गरेका छन् । यिनीहरुको विकास र संरक्षण राज्यबाट गरिनुपर्छ । उद्योग व्यवसायका क्षेत्रमा गरिने सरकारी कामहरु सम्पूर्ण जिल्ला वा प्रदेश स्तरीय कार्यालयहरुबाट हुने व्यवस्था मिलाइनु पर्दछ ।