भ्रष्टाचारमा मुछिएका कर्मचारीको सुसाइड नोटः ‘अख्तियार प्रमुखज्यू, तपाईँ २ सय वर्ष बाँच्नुस्’

 

साउन २७, काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका एक कर्मचारीले आत्महत्या गरेका छन् । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मालपोत कार्यालय, कलंकीका तत्कालीन कर्मचारी हरि आचार्यले आत्महत्या गरेका हुन् । 

मृतक ५५ वर्षीय आचार्यको घर उदयपुरको त्रियुगा नगरपालिका–१० मा पर्छ । उनी शनिबारमात्रै काठमाडौंबाट उदयपुर फर्किएका थिए । त्यसपछि घरमा झोला र मोबाइल राखेर निस्किएका उनी त्यही दिनदेखि बेपत्ता भएका थिए । 

null

प्रहरीले खोज्ने क्रममा उनको शव आइतबार त्रियुगा नगरपालिका–९, रातामाटेस्थित शिखरकट्टे भन्ने ठाउँका जंगलमा झुण्डिएको अवस्थामा फेला पारेको हो । 

आचार्यको खल्तीबाट २ पेज लामो सुसाइड नोट बरामद भएको प्रहरीले जनाएको छ । सुसाइड नोटमा उनले परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचारको आरोप लागेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । 

उनका अनुसार उनले सुसाइड नोटमा लेखेका छन्, ‘मैँले कसैको २ रुपैयाँसमेत खाएको छैन । अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस् । मलाई भ्रष्टाचारी बनाउन खोजियो । मलाई भ्रष्टाचारी देख्ने अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना !’ 

आचार्यले सुसाइड नोटमा परिवारका बारेमा पनि उल्लेख गरेका छन् । उनले परिवारका सबै सदस्यलाई मिलेर बस्न आग्रह गरेका छन् । छोरीलाई राम्रोसँग पढ्न पनि सुझाएका छन् उनले । 

सुसाइड नोटमा उनले घरपरिवारलाई सन्देश पनि दिएका छन् । उनले लेखेका छन्, ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिनँ, कामबाट चोखिने काम मात्र गर्नु, मैले कामगर्दा भएको गल्ती हो स्वीकार गरेको थिएँ । ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म बिदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु’ 

अख्तियारले ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्यसहित ६ जनाविरुद्ध गत जेठको दोस्रो साता मुद्दा दायर गरेको थियो । 

उनीहरुले सरकारी जग्गा कीर्ते गरेर २ करोड २१ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *