सुनसरीको धरानमा विकास गर्ने काँग्रेस मात्रै : किशोर राई

मङ्सिर १२, सुनसरी । नेपाली काँग्रेसका युवा नेता एवम् सुनसरी निर्वाचन क्षेत्र नं १(क) बाट प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले नेपालका कम्युनिष्टहरुले बनेको कुरा बिगार्ने र भताभुङ्ग मात्रै पार्ने गरेको आरोप लगाएका छन् । धरान १४ स्थित विजयपुरमा आयोजित घर दैलो एवम् कोणसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राईले सो कुरा बताएका हुन ।

‘एमाले र माओवादी पार्टीसँग देशको विकास गरेको र आर्थिक समृद्धि ल्याएको हैन, बिगार्ने र भत्काउने कामको अनुभव बढी छ ।’ उम्मेदवार राईले भने, ‘बाम गठबन्धनको बहुमत पुग्यो भने तिनले धर्म, संस्कृति, परम्परा, इतिहास र बनेका सबै कुराहरू तहसनहस बनाउँछन् ।’

विजयपुर एतिहासिक ठाउँ रहेको र यस क्षेत्रको ऐतिहासिकता र गरिमालार्इ बचाउन धरानलाई राजधानीको रूपमा विकास गर्न लोकतान्त्रिक गठबन्धन घटक नेपाली काँग्रेस, सङ्घीय समाजवादीले पहल गरिरहेको बताए ।

एमालेकै कारण धरानको विकास नभएको दाबी गर्दै राईले धरानको विकाश गर्न एमालेलाई पाखा लगाउनु पर्ने बताए । सस्तो नारा दिएर गरिब जनतालाई झुक्याउनमा एमाले र माओवादीका कार्यकर्ता माहिर रहेको आरोप लगाउदै राईले भने , “हामीले जे भन्छौ, त्यही गछौं, जति सक्छौ, त्यति भन्छौ ।”

आदर्शहिन बाम गठबन्धन बनाउनुको कुनै औचित्य नभएको बताउँदै उनले भने, “जनता मारेर स्वार्थ पूरा नभएपछि बाम एकता भएको हो ।” एमाले र माओवादीलाई प्रश्नगर्दै धरान काँग्रेसका नेता समेत रहेका राईले भने,“बाम गठबन्धन गर्दैमा सबै विकास र निकास आउथ्यो भने किन १० वर्षे जनयुद्ध गरेर १७ हजार नेपालीको हत्या गरेको ?”

चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालका कम्यूनिष्टहरुमा कुनै मौलिकत नभएको भन्दै विदेशी नेताको पूजा गर्ने पार्टी राष्ट्रवादी हुनै नसक्ने दाबी गरे । उनले अहिले बाम गठबन्धन राष्ट्रिय आवश्यकता भन्दा पनि विदेशीको इसारामा नै भएको आशंका पनि व्यक्त गरे ।

नेता राईले नेपाली जनतालाई राजनीतिक अधिकार दिलाएर लोकतान्त्रिक पद्धतिमार्फत आर्थिक समृद्धि हासिल गर्न स्थापित नेपाली काँग्रेसले राजनीतिक लक्ष्य पूरा गरेको उल्लेख गर्दै अब समृद्धिको यात्राको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्ने बताए ।

चुनावी सभामा मिना सुब्बा,दुर्गामाया लिम्बु सहितका बक्ताहरुले बाम गठबन्धन बनाएर एकदलीय अधिनायकवाद स्थापना गर्ने लक्ष्य पूरा नहुने बताएका थिए । यसैबिच सङ्घीय लिम्बुवान मञ्च नेपालका प्रतिनिधि र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेका छन् । मतदाताहरुलाई आफ्नो अमूल्य मत दिएर जिताउन उनीहरूले आग्रह गरेका छन् । प्रतिनिधि तर्फका सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार भूपू डिएसपी कृष्णमान थेवेले धरान–१५ का मतदाताहरुको घरदैलोमा पुग्दै मत मागेका छन् ।

त्यस्तै प्रदेश १ क का पूर्णबहादुर लिम्बू (साइबाबा) र प्रदेश १ ख का भूपेन्द्रसुन्दर लावतीले पनि मतदाताको घर घरमा पुगेर मत मागेका छन् । निर्वाचन प्रचार प्रसार समितिका संयोजक सञ्जुहाङ साँवाका अनुसार शनिवार र आइतबार धरान–१५ का मतदातासामू मत मागेका छौँ । उनले धरानमा सामानुपाति उम्मेदवारसहितको टोली बस्ती बस्तीमा पुगेर मत मागिरहेको बताए । समानुपातिकमा सावित्री पन्धाक, काजिमान ओख्राबू, राजेश श्रेष्ठ, पर्शुराम वाइवा, दिलू लिम्बू राई, सरस्वती लिम्बू र सिजन राजधामीहरु पनि घरदैलोमा सहभागी हुँदै मत मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *