घट्दो मतदान र विदेशिएका नेपालीलाई मतदानको अवसर
“
प्रतिनिधि र प्रदेश सभाको पहिलो चरण अन्तर्गतको ३२ जिल्लामा मतदान सम्पन्न भएको छ । अबको केही दिनमै दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको छ । समग्रमा यो मतदान उत्साहजनक नै हो । तर, स्थानीय तहका निर्वाचनका तुलनामा यो मतदान निकै कम हो । राष्ट्रिय निर्वाचनमा जति जनसहभागिता हुनुपर्ने हो, त्यो हुन नसकेको प्रस्ट छ । स्थानीय तहका निर्वाचनमा ८० प्रतिशतका हाराहारीमा मत खसेको थियो । अहिले निर्वाचनमा लकिन मतदाताको सङ्ख्या कम भयो त, त्यसबारेमा खोजीनीति हुनुपर्छ ।
पहिलो चरणको निर्वाचनमा कम मतदान हुनुको प्रमुख कारण सरकारी उदासिनता नै हो । सरकारले विभिन्न पर्व र उत्सवहरुका नाममा वर्षका धेरै दिन बिदा दिन्छ । त्यस्ता बिदा पर्वहरु कतिपय सन्दर्भमा कामै लाग्दैनन् । हिमाली क्षेत्रका जनताले मनाउने चाडपर्वमा तराईमा पनि बिदा दिइन्छ । तराईका पर्वमा हिमाली र पहाडी क्षेत्रमा बिदा दिइन्छ । जुन बिदाको त्यहाँका जनताका लागि अर्थ छैन । तर, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जस्तो राष्ट्रिय पर्वमा सरकारले सार्वजनिक बिदा दिन कन्जुस्याँई ग¥यो । हिमाल, पहाड सबैतिरका धेरै नागरिक राजधानी लगायतका विभिन्न सहरमा काम गर्छन् । ती नागरिकहरू मतदान गर्ने चाहना हुँदाहुँदै पनि काम छोडेर मतदान गर्न घर जान पाएनन् । निर्वाचन जस्तो राष्ट्रिय पर्वमा केही दिन मात्र भए पनि राष्ट्रिय बिदा दिनुपथ्र्याे । आउँदो निर्वाचनमा यतातिर सरकारले ध्यान दिन जरुरी छ ।
दोस्रो कुरा, निर्वाचन आउनु कैयौँ दिन अघि देखि नै आतङ्कको वातावरण सृजना गरियो । उम्मेदवारहरुलाई लक्षित गरी बम विस्फोट लगायतका घटनाहरू घटाइए । पहिलो चरणको निर्वाचनका क्रममा देशका विभिन्न भागमा बम विस्फोट गराइयो । निर्वाचनकै दिनमा पनि धादिङ धुनिबेँसी नगरपालिका–५ स्थित शारदा मावि नजिक, बझाङ जयपृथ्वी नगरपालिका–११ भुपुर, जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–७ गुनाभिर, नुवाकोट, ककनी गाउँपालिका–२ काउले, दार्चुला महाकाली नगरपालिका–४ खलंगा, बुटवल उपमहानगरपालिका–१० रोल्पा, त्रिवेणी गाउँपालिका–७ दोलखा, भीमसेन नगरपालिका–३ र दोलखाकै भीमेश्वर नगरपालिका–६ कपिलवस्तु, वाणगंगा नगरपालिका–११ बागलुङ, वडिगाड गाउँपालिका–७ डाँडागाउँ, ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङस्थित सरस्वती मावि लगायतका स्थानमा भेटिएको बमलाई सुरक्षाकर्मीले निस्क्रिय पारेका थिए । यी घटनाका कारण पनि निर्वाचनमा जनसहभागिता कम गराउन भूमिका खेलेको देखिन्छ । त्यसरी आतङ्कको वातावरण सृजना गर्ने काम अहिले पनि जारी छ ।
यस्तै, तेस्रो कुरा, मङ्सिर १० गते उच्च पहाडी र हिमाली जिल्लाहरूमा निर्वाचन तोकियो । मङ्सिर महिनामा जाडो बढीसकेको छ । उच्च हिमाली भेगमा हिउँ पर्न थालेको छ । लेकका मानिसहरू लगभग बेंसी झरिसकेका छन् । उनीहरूलाई पुन: मतदानस्थलसम्म लैजानु भनेको गाहे कुरा थियो । तर पनि जनताको उत्साहले मतदाताहरु आफ्नो गाउँठाउँमा गएर मतदान गरे । तर, जति उपस्थिति हुनुपर्ने हो, त्यो भने हुन सकेन ।
चौथो र अत्यन्त महत्त्वपूर्ण विषय अहिले लाखौँ नेपालीहरू रोजगारीको खोजीमा विदेशिएका छन् । उनीहरू निर्वाचनकै लागि घर फर्कने सम्भावना थिएन । सरकारले विदेशिएका नेपालीका लागि आफू बसेकै स्थानबाट मतदाको व्यवस्था मिलाउन सक्नुपथ्र्याे । तर त्यसो गर्न सरकारले चासो दिएन । फलस्वरुप लाखौँ युवा मतदान गर्नबाट वञ्चित भए । अहिले पनि गाउँघरबाट युवाहरू धमाधम विदेश जाने क्रम बढ्दो छ ।
विदेशीएका युवाले आबधिक निर्वाचनमा मतदान गर्न सक्दैनन् । संसारका कैयौँ देशले यो व्यवस्था गरेका छन् कि आफ्ना नागरिक जुन देशमा छन्, त्यही देशबाट मतदान गरून् । तर, नेपाल सरकार यस विषयमा उदासिन देखियो । यदि प्रत्यक्षतर्फ विदेशबाट मतदान गर्न सक्ने स्थिति नभएपनि समानुपातिक प्रणालीतर्फको मतदानमा उनीहरूलाई सहभागी गराईनुपथ्र्याे । आगामी दिनमा राजनीतिक दल र सरकारले यतातिर विशेष ध्यान दिन जरुरी छ ।
“