सुनसरी–३ मा मतदाता शिक्षा कार्यक्रममै गच्छदारलाई भोट मागियो
“
मङ्सिर १२, सुनसरी । सुनसरी क्षेत्र नं. ३ मा जिल्ला निर्वाचन कार्यालय सुनसरीबाट परिचालित सामाजिक परिचालिकाहरुले नेपाली काँग्रेसका लागि भोट मागेको पाइएको छ । सुनसरी क्षेत्र नं. ३ को बर्जु गाउँपालिका अन्तर्गत अमाहीबेल्हाका विभिन्न वडाहरुमा मतदाताका घरघरमा गएर मतदान सचेतना दिने महिला परिचालिकाहरुले आचारसंहिता विपरीत नेपाली काँग्रेसबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार विजयकुमार गच्छदारको चुनाव चिन्हमा भोट हाल्न निर्देशन गरेका हुन् ।
सामाजिक परिचालक नितु चौधरीको नेतृत्वमा खटिएका अमृता चौधरी, पार्वती चौधरी, सुनिता सरदारले मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह नै देखाएर भोट हाल्न अनुरोध गरेका छन् । स्थानीय एक मतदाताले आज बिहान करिब ७ बजेतिर आएका उनीहरूले ‘गच्छदारके चुनाव चिन्ह गाछीमे भोट देहान्’ भन्दै भोट मागेको बताए । उनले आफूलाई मतपत्रको बारेमा थाहा नभएको र सोको बारेमा मात्र जानकारी दिन भन्दा तीन ओटा मतपत्रमा सुरुको ‘गाछी’ चिन्हमा छाप लाउन भनेको बताए । ‘दोसर छापमे कथिले देवी, बरु गाछी छापमे भोट दियेह’ भन्दै रुखमा भोट हाल्न सिकाएको उनले भने ।
मतदाता शिक्षा परिचालकहरुले बर्जु गाउँपालिकाका अमाहीबेल्हाका सरदार टोल, ऋषिदेबटोल, पण्डित टोल, पासवान टोलका निरक्षर महिला मतदाताहरुलाई ‘गाछी’ मा भोट हाल्न भनेका छन् । स्रोतका अनुसार सामाजिक परिचालिका नितु चौधरीले ३ ओटा ब्यालेटमा भएका रुख चिन्हमै भोट हाल्न भनेकी छिन् । तीन जनाको समूहमा मतदाता शिक्षा सञ्चालन गर्दै हिँडेका उनीहरूले नमुना मतपत्र देखाउँदै मतदातालाई ‘गाछी’ मा भोट हाल्नुपर्छ भनेको स्थानीय अजय चौधरीले बताए । सामाजिक परिचालिका नितु चौधरीले त्यसरी चुनाव चिन्ह नै इङ्गित गरेर भोट नमागेको बताइन् । उनले बरु रातीराती पार्टीका कार्यकर्ता नै आएर सिकाउने गरेको जिकिर गरिन् ।
सुनसरी क्षेत्र नं. ३ का यी क्षेत्रमा दलित, मुसहर, अल्पसंख्यक तथा कमजोर आर्थिक अवस्था भएका समुदायको बाहुल्यता रहेको छ । यी क्षेत्रमा अधिकांश महिलाहरू निरक्षर रहेको फाइदा उठाउँदै नेपाली काँग्रेसका उम्मेदवार गच्छदारले सामाजिक परिचालिकाहरु नै प्रयोग गरेर आफ्ना लागि भोट मागिरहेका छन् । उनले रातीराती गाउँगाउँमा युवा कार्यकर्ता परिचालन गरेर स्थानीय मतदातालाई फकाएर हुन्छ की धम्क्याएर आफ्नो पक्षमा पार्न लागि परेका छन् । स्थानीय पासवान टोलका एक वृद्धले रातीराती काँग्रेसका कार्यकर्ताले दुखः दिएको जिकिर गरे ।
गच्छदार वहालवाला उपप्रधान तथा स्थानीय विकासमन्त्री समेत भएको फाइदा उठाउँदै स्थानीय कर्मचारी संयन्त्र नै प्रयोग गरेर मतदातालाई आफ्नो पक्षमा पार्न लागेको नेकपा एमालेकी प्रत्यासी उम्मेदवार भगवती चौधरीले बताइन् । ‘गच्छदार जीले निर्वाचन आचारसंहिता विपरीत राज्यसत्ताको चरम दुरुपयोग गर्दै स्थानीय कर्मचारीलाई समेत भोट माग्न खटाउनु भएको छ ।’ उनले भनिन् । चौधरीले सामाजिक परिचालकहरुले रुखमा भोट हाल्न भनेको विषयमा आफूलाई पनि जानकारी आएकोले निर्वाचन कार्यालयमा छानबिन र कार्वाहीका लागि उजुरी दिएको बताइन् । यस पटक गच्छदारलाई आफ्नो विरासत जोगाउन पद र पैसाको साहारा लिएको जिकिर गरिन् । ‘मतदान अघिनै पराजित मानसिकताबाट ग्रसित भएर गच्छदार जीले पदिय दुरुपयोग गर्नुहुँदैछ । एजेन्डा नभएपछि पद र पैसा साहारा लिँदै हुनुहुन्छ ।’ उनले भनिन् ।
२६ वर्षदेखि राज्य संयन्त्रमा रहेर पटकपटक मन्त्री हुँदा समेत आफ्नै गहृ जिल्लामा कुनै ठोस काम नगरेपनि उनीसँग जनता रुष्ट रहेका छन् । केही दिनदेखि मन्त्रालय नै खाली गरेर क्षेत्रमा चुनावी अभियान सञ्चालन गरेका गच्छदारले सो क्षेत्रका ग्रामीण भेगमा स्थानीय युवाहरूलाई रक्सी, मासु र पैसाको प्रलोभनमा पारेर आफ्नो पक्षमा जनमत सृजना गर्न लागेका छन् । एक स्थानीयले जनाए अनुसार अहिले अमाहीबेल्हा, पासवान टोल, पचिरा, पण्डित टोल, ऋषिदेव टोल, लवटोली लगायतका स्थानमा गच्छदारको निर्देशनमा दैनिक ‘खसी’ काटेर भोज गरिन्छ । निर्वाचन आचारसंहिता विपरीत कांग्रेसले स्थानीय युवाहरूलाई आफ्नो पक्षमा पार्नका लागि रक्सी, पैसा र मासुको साहारा लिएकाे छ ।
‘नेपाली काँग्रेसका कार्यकर्ताहरूले प्रतिष्पर्धी उम्मेदवार नेकपा एमालेका गाउँ पालिका र वडाका केही कार्यकर्तालाई जवरजस्ती गर्ने, बाटोमा मोटरसाइकलको चावि खोसिदिने गरेका छन् ।’ स्थानीय युवा अजय चौधरीले जिकिर गरे । स्रोतका अनुसार अमाहीबेल्हामा नेपाली काँग्रेसका खगेन्द्र सिटौलाको निर्देशनमा केही युवाहरूलाई मासु र रक्सी खानु भन्दै दिउसै पैसा बाँडेका छन् । स्थानीय बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी समेत यति बेला कार्यालय नै छाडेर गच्छदारको चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । भने, सोही गाउँ पालिकाका वडा नं. ५ का वडाध्यक्ष किशोर चौधरीले सामाजिक परिचालिकाहरुलाई रुखमा भोट हाल्न सिकाउनु भन्दै निर्देशन दिने गरेका छन् ।
जिल्ला निर्वाचन आयोगको कार्यालय सुनसरीले परिचालकहरुले भोट मागेको विषयमा उजुरी नै आएकोले तत्कालै उनीहरूलाई बोलाईएको बताएको छ । कार्यालयका नासु गणेश प्रसाद भट्टराईले आजै कार्यालयमा सुनसरी–३ का विभिन्न स्थानमा खटिएका केही परिचालिकाले मतदातालाई ‘रुखमा भोट हाल्नु’ भनेको भन्दै उजुरी नै परेपछि उनीहरूलाई टेलिफोन गरी तत्कालै कार्यालयमा बोलाईएको र भोलि लिखित स्पष्टीकरण माग्ने बताए ।
“