धरानका मेयरलाई खानेपानी विवादको निकास निकाल्न धौधौ, नगरसभा हुनु अघि मागियो प्रतिबद्धता

फागुन ५, धरान । सुनसरीको धरानमा चारतारे झण्डा फरहराएका धरान उपमहानगरपालिकाका मेयर आलोचित हुनेक्रम शुरु भएको छ । उपनिर्वाचनबाट कम्युनिस्ट पार्टीको लालकिल्ला तोड्न सफल भएपनि नगरको विकासमा खासै ध्यान दिन नसकिरहेको आरोप छ ।  

धरान पर्यटकीय शहर भएपनि खानेपानीको चर्को समस्या छ । खानेपानी समस्या समाधान गर्नकै लागि भनेर करिब आठ वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा खानेपानी परियोजना सञ्चालन भएपनि आयोजनाले सोचे अनुरुप काम गर्न सकेको छैन । सन् २०१७ मै आयोजना सम्पन्न भइ सक्नुपर्नेमा पटकपटक म्याद थप गरिँदै आएको छ । 

खासगरी धरानस्थित खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा समायोजन गर्ने सन्दर्भमा मेयर तिलक राईले सोचे अनुसार काम गर्न नसकेको गुनासा धरानबासीको छ ।   बोर्ड र संस्थानको विवाद समाधान गर्न जनप्रितिनिधिहरुले ध्यान नदिएपनि धराने जनता वर्षेनी सुख्खा याममा काकाकुल हुनुपर्ने अवस्था छ ।   

धरान उपमहानगरपालिकाको छैठौं नगरसभामा मेयर तिलक राईले फागुन मसान्त सम्ममा खानेपानी संस्थान लाई बोर्डमा समायोजन गर्ने प्रतिबद्धता जनाएपनि विस्वास गर्न सक्ने अवस्था नरहेको धरान उपमहानगरपालिकाका एक वडाध्यक्षले भने । ‘उहाँलाई विजयको उन्मादले अझै छोडेको छैन, चुनाव जितेपछि एक महिना बढि फुलमाला नै ओढेर गाउँगाउँ हिँड्नु भयो । धरानको विकासमा चासो देखिएन ।’ संस्थानलाई बोर्ड मातहतमा ल्याउने प्रतिबद्धता खानेपानीको विषयलाई लिएर सडकमा विवाद गर्नेहरुलाई मत्थर पार्ने मात्र उपाय भएको उनको दावि छ ।   

धरान खानेपानी आयोजनाको निर्माण अवधि समाप्त भएपछि उपमेयर मञ्जु भण्डारी कार्यवाहक मेयर भएको बेलामा नै संस्थानलाई बोर्डमा समायोजन गर्ने प्रयास भएको थियो । त्यस बेला मन्त्री स्तरिय निर्णय समेत कार्यान्वयन हुनसकेको थिएन । अहिले पनि सडकमा संस्थानलाई बोर्डमा समायोजन गर्ने विषयमा विवाद गर्नेहरु चुपचाप बसेका छैनन् ।   

तिलक राईले मेयरमा निर्वाचित भएपछि उपमहानगरपालिका भित्रै खानेपानीको विवाद शुरु गरिएको छ । उपमहानगरपालिकाको छैठौं नगरसभा शुक्रवार उद्घाटन हुनुअघि नै खानेपानीको विवादमा छलफल गरिनुपर्ने प्रस्तावले विवाद निम्तिएपछि मेयर राईले फागुन मसान्तभित्र संस्थानलाई बोर्डमा समायोजन गर्ने प्रतिबद्धता जनाएका हुन् । उपमहानगरपालिकाका प्रवक्ता मणिराम राई र वडा नं. ९ का अध्यक्ष रत्न कटुवालको अगुवाईमा नेकपाका नगरसभा सदस्यहरुले बैठकमा खानेपानी संस्थानलाई बोर्डमा समायोजन बारे छलफलको माग गर्दै शुरुवातमै सभा अबरुद्ध गरेपछि मेयरको उक्त प्रतिबद्धता आएको हो ।   

संस्थानलाई वोर्डमा गाभ्न हुँदैन भन्ने समुहहरु विद्यमान भएको अवस्थामा नेपाल खानेपानी संस्थानबाट संस्थानको धरान शाखाको सम्पत्ति मूल्याङन गरि समायोजनमा सहयोग पु¥याउन अधिकार सम्पन्न टोली आएपनि टोलीले आशातित काम गर्न सकेको छैन ।   

टोलीले ४५ दिनभित्र सम्पत्ति मुल्याङन गरिसक्ने बताएपनि पन्ध्र दिन नपुग्दै उपमहानगरपालिकामै पत्रकार सम्मेलन गरी संस्थानका कर्मचारीहरुले समायोजनका लागि असहयोग गरेको भन्दै नाटक प्रदर्शन गरे । संस्थानकै केन्द्रीय कमिटिबाट समायोजन गर्न समस्या भयो भनिरहँदा मेयरको प्रतिबद्धताले मात्रै खानेपानी समस्या समाधान हुन्छ भनेर विस्वासगर्न सकिने वातावरण नदेखिएको एक नगर सदस्यले भने । ‘धरानलाई काकाकुल बनाउन चाहनेहरुले संस्थानलाई बोर्डमार्फत ल्याउन चाहिरेका छैनन्, यस्तो अवस्थामा मेयरले बोल्ड डिसिजन गर्नुपर्नेमा उहाँ आश्वासन मात्र बाँड्दै हुनुहुन्छ ।’ ती नगर सदस्यले भने ।   

उपमहानगरपालिकाले समायोजनका लागि गरेका प्रयासहरु किन सफल भएनन् र समायोजनका लागि सहयोग गर्न संस्थानबाट आएको टोलीले संस्थानकै कर्मचारीले असहयोग गरे भन्ने स्थिति कसरी पैदा भयो नगरसभामा छलफल नहुनु दुर्भाग्यपूर्ण छ । उपमहानगरपालिकाले धरानबासीलाई अहिलेसम्म खानेपानीका सन्दर्भमा श्वेतपत्र जारी गरेको छैन ।   

धरानमा खानेपानी संस्थानले खानेपानी वितरण गरे वापत वार्षिक करोडौंको आम्दानी गर्दछ । आम्दानी उपमहानगरपालिकालाई जिम्मा लगाउन नचाहेको कारणपनि समायोजनमा समस्या भएको कतिपय स्थानीयको बुझाई छ । भने, कतिपयले एडिवीको परियोजनाले खानेपानीको शुल्क महंगो गर्ने र कालान्तरमा परियोजना असफल हुने जिकिर गर्दै आइरहेका छन् । 

खानेपानी संस्थानलाई बोर्डमा समायोजन गर्न मेयर तिलक राईले यसअघि भन्दै आएका पक्षविपक्षको कुरा नगरी धरानबासीको हितका लागि सबैको प्रतिबद्धता माग्ने बेला आएको छ । संस्थान र मन्त्रालयलाई समायोजनमा अवरोधक देखाउने बहाना अहिलेपनि सडकमा विद्यमान छ । विहीवार मात्र खानेपानीको नाममा आन्दोलन गर्दै आएका र थपिएका समेत ९ वटा समुह र राजनीतिक पार्टीको नाम विज्ञप्ती जारी गर्दै समायोजको विरोध गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण पत्र प्रेषित गरेको भन्दै विज्ञप्ती जारी गर्ने उक्त समुहमा मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ धरान अध्यक्ष मिलन राई, संघीय लिम्बुवान राष्ट्रिय मन्च धरान समिति, अध्यक्ष सन्जुहाङ लिम्बू, किरात खम्बुवान साझा पार्टी, नगर अध्यक्ष राजेश खिम्दुङ, जनसरोकार मञ्च सचिव भक्त क्षेत्री, राष्ट्रिय एकता सन्जाल धरान अध्यक्ष हर्क साम्पाङ, नागरिक एकता समाज धरान संयोजक धनकुमार राई, खानेपानी उपभोक्ता समिति धरान ११ अध्यक्ष हर्कराज राई, खेरेसुङ्छा समाज सेवा समिति सहसचिव रत्नमणि राई र दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति सहसंयोजक हर्क साम्पाङले खानेपानी समायोजनको विरोध जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *