भगवती चौधरीको प्रश्न : २६ वर्षसम्म १८ वटा मालदार मन्त्रालय सम्हाल्दा खोइ विकास ?

मङ्सिर १४, सुनसरी । सुनसरी जिल्ला क्षेत्र नं. ३ का लागि बाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले अब सुनसरीको विकासको गति तीव्र बन्ने बताएकी छन् । जनतासँग मत माग्न घरदैलो अभियानमा व्यस्त चौधरीले सुनसरी जस्तो सुगम जिल्लामा विकासको गति निकै धिमा भएको प्रति जनतामा आक्रोश व्याप्त रहेको बताइन् ।

मकालु खबरसँग कुरा गर्दै चौधरीले जनताले परिवर्तनको अपेक्षा राखेको आफ्नो अनुभव सुनाईन् । ‘जनताले विकास र परिवर्तन चाहेका छन् । सुनसरीका जनता विकास र समृद्धिका लागी नयाँ नेतृत्वको खोजीमा छन् र त्यसका लागि हामीप्रति जनताले भरोसा गरेका छन्’ चौधरीले भनिन् । उनले जनताको परिवर्तनको चाहनाका कारण आफूलाई मत दिएर जिताउने कुरामा ढुक्क रहेको पनि बताइन् ।

नेतृ चौधरीले बाम गठबन्धनको सरकार निर्माण भएपछि युवा स्वरोजगार र प्राविधिक शिक्षालाई जोड दिँदै समुन्नत समाज निर्माण गरिने बताएकी छन् । उनले भनिन्– ‘यो क्षेत्रमा अहिलेसम्म एउटै प्राविधिक शिक्षालय स्थापना भएका छैनन्, यहाँको कृषि प्रणालीलाई आधुनिकिकरण गरी गरिब अल्पसंख्यक, दलित समुदायका युवाहरूलाई स्वरोजगार हुन विशेष कार्यक्रम ल्याउने छु ।’ नेतृ चौधरीले नेकपा एमाले र बाम गठबन्धनले विदेशमा रहेका १० लाख युवाहरूलाई स्वदेश फर्काएर उनीहरूलाई यहीँ स्वाबलम्बी बनाउने कार्यक्रम ल्याउने बताइन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ चौधरीले विगत २६ वर्षदेखि यहाँका सोझासाझा जनतामा भ्रमको खेती गरेर राजनीति गरेका विजयकुमार गच्छदारको राजनीतिक यात्रा अब टुङ्गिएको दाबी गरिन् । उनले विजय गच्छदार पुरै असफल भएको भन्दै प्रश्न गरिन्– ‘२६ वर्षसम्म शासनसत्तामा रहँदा १८ पटक सम्म छानीछानी राम्रा मन्त्रालय रोज्दा समेत विकास र संवृद्धि जनतालाई किन दिन सक्नुभएन ?’

गच्छदारले पैसा र पदका आधारमा मात्र चुनाव जितेको भन्दै अब त्यस्तो सहज परिस्थिति नआउने दाबी गर्दै जनताले सही नेता र सही पार्टी छुट्टयाई सकेको जिकिर गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *