एमालेद्धारा आयोगको ध्यानाकर्षण
“
काठमाडौं, मंसिर १४ । सरकारले चार जना प्रहरी महानिरिक्षक पदको सिर्जना गर्न खोजेको भन्दै नेकपा एमालेले कडा हस्तक्षेप गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको आज बसेको बैठकले सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न भन्दा अनाधिकृत रुपमा राज्यकोषको दुरुपयोग गर्ने कामलाई निरन्तरता दिएको आरोप लगाउदै यस्ता काम तत्काल रोक्न आग्रह पनि गरेको छ ।
केन्द्रिय निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्ण रिमालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘हामीलाई जानकारी भएअनुसार नेपाल प्रहरीमा चारजना प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासनलाई अनावश्यक रुपमा भत्काउन खोजिदैछ । सरकारको यस्ता कामप्रति नेकपा (एमाले) कडा शब्दमा विरोध गर्दछ ।’
एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्न प्रधानमन्त्रीको निर्देशनमा कांग्रेसका नेता कार्यकर्तालाई १६ करोडभन्दा बढी रकम बाँडिएको आरोप पनि लगाएको छ ।”