नोवेल कोरोना भाइरस संक्रमणको आशंकामा वीपी प्रतिष्ठान आएका विरामी राजधानी रेफर

माघ १७, धरान । नोवेल कोरोना भाइरस संक्रमणको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएका एक विरामीलाई राजधानी रिफर गरिएको छ ।   

प्रतिष्ठानको इमरजेन्सीमा आएका एक विरामीलाई प्रतिष्ठानले रेफर गरेको हो । ज्वरो र घाँटीको दुःखाईको उपचार गर्न प्रतिष्ठानको आकस्मिक कक्षमा आएका ती विरामीलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको प्रतिष्ठानका आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्लले बताएका छन् ।   

इमरजेन्सीमा चिकित्सकले उपचारको क्रममा विदेश गए नगएको प्रश्न गर्दा विरामी दक्षिण कोरियाबाट ५ दिन अघि नेपाल आएको र कोरियाबाट आफु फर्कदा कोरियामै केही व्यक्ति संक्रमण भइसकेको भनेपनि कोरोना भाइरसको आशंकामा रेफल गरिएको हो । बिहिबार दिउँसो करिब ३ बजे इमरजेन्सीमा आएका ती विरामीलाई साँझ ७ बजेतिर राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरिएको थियो ।   

वीपी प्रतिष्ठानले कोरोना भाइरस संक्रमण देखिएपछि र्यापिड रेस्पोन्स कमिटि गठन गरेको छ ।  प्रतिष्ठानले भाइरसको संक्रमण फैलिन नदिनका लागि पुर्वतयारी एवं सर्तकता अपनाउन ११ सदस्यीय कमिटि गठन गरेको हो । 

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाहको अध्यक्षतामा गठित र्यापिड रेस्पोन्स टीमले संक्रमण फैलन नदिन तथा पूर्व सर्तकता अपनाउन काम गर्नेछ । कमिटिको सदस्यहरुमा सहायक अस्पताल निर्देशक डा.विकास साह, इर्मेजेन्सी इञ्चार्ज डा.ज्ञानेन्द्र मल्ल, एनेस्थेसियोलोजी विभागका डा.कृष्णा पोखरेल, माइक्रोबायोलोजी विभागका डा.नारायणराज भट्टराई, कम्युनिटी मेडिसिन विभागका डा.विजय खनाल रहेका छन् । 

यसैगरी अन्य सदस्यहरुमा इएनटि विभागका डा.दिपक पौडेल, पेडियाक्ट्रिक्स विभागका डा.मुकेश भट्ट, गाइने विभागका डा.मनोज साह, इन्टरनल मेडिसिन विभागका डा.रोशन क्षेत्री सदस्य रहेको प्रतिष्ठानले जनाएको छ । समिटिको सदस्य सचिवमा अस्पताल प्रशासन महाशाखाकी सुपरभाइजर कमला लिम्बु रहेकी छिन् । 

प्रतिष्ठानले सबै विभागमा सर्कुलर गर्दै प्रतिष्ठान प्रदेश नं. १ र २ कै रेफरल सेन्टर रहेकाले कोरोना भाइरस संक्रमणको आशंकामा विरामी आउन सक्ने भएकोले उच्च सर्तकताका साथ तयारी अवस्थामा रहन डाक्टर, नर्स तथा प्राविधिकलाई निर्देशन दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *