लकडाउनले लक हुन थाल्यो मुसहरको चुल्हो !

चैत्र १८, चितवन । खैरहनी १० कठारका प्रभु मुसहर (माझी) घरको बुट्टा काट्ने काम गर्छन् । उनी अहिले काममा गएका छैनन् । पहिले काम गरेको ज्याला समेत उनले पाएका छैनन् । 

विश्वमा नै फैलिएको कोरोना भाईरसको संक्रमण न्युनिकरण गर्न नेपाल सरकारले लागू गरेको लकडाउनको असर उनको मजदुरीमा पनि पर्यो । अहिले घरमै दिन कटाउन बाध्य छन् उनी । 

बुट्टा काट्ने काम गरेरै बिहान बेलुकाको छाक टथ्र्यो । काम गर्दै आएको घरमा छिर्न दिएका छैनन् । ‘बाहिर निस्किएको देखेमा प्रहरीले लखेट्छ, घरमै बसिरहेका छौँ । पहिले काम गरेको ठाउँबाट पैसा पाएको छैन’, प्रभु माझीले भने, ‘जेनतेन बिहान बेलुकाको छाक टारिरहेका छौँ ।’ 

प्रभु माझी जस्तै यहाँका अन्य पुरुष र महिलाहरुको दैनिकी घरमै बसेर बितिरहेको छ । यहाँका महिलाहरु पनि विभिन्न काममा जाने गरेका छन् । जग्गा जमिन छैन । काम नगरी खान पुग्दैन । 

एमपी माझीले भनिन्– ‘काम नपाएको बेला माछा टिप्न जान्थ्यौँ, त्यो पनि बन्द भइसक्यो । चैते धान लगाउने बेलामा केही व्यस्त रहेपनि अहिले फुर्सदिलो भएका छौँ ।’ 

वनबाट ल्याएको दाउराले उनीहरुको चुल्होमा आगो बल्छ । वनभित्र प्रवेश रोकिएको छ । वनमा छिर्न दिँदैनन् । अर्का मजदुर शनिचरा माझीले भने, ‘लुकीछिपि ल्याउने हो, देख्यो भने पालेले त्यहीँ आगो लगाई दिन्छन् ।’ 

उनी पनि ज्याला मजदुरीमै जाने गर्थे । अहिले दिनभर सुतेर बिताउनु परेको शनिचराले बताए । काम गरेकै ज्यालाबाट बिहान बेलुकाको छाक टार्ने बताएका उनले चामलको बोरा रित्तिएको दुखेसो पोखे । 

यहाँका मुसहर समुदायमा २८ घरपरिवार छन् । उनीहरु सबैको हालत उस्तै छ । ऐलानी जग्गामा बस्दै आएका उनीहरुको घर घामपानी नछेकिने छ । संघीय सरकार र खैरहनी नगरपालिकाले उनीहरुका लागि पक्की आवास निर्माण गर्दैछ । तर पूर्णता पाएको छैन कामले ।  

त्यही झुप्रो घरमा बसेर थोरैथोरै भएपनि बिहान बेलुका छाक टार्दै आएको भोला माझीले बताए । भोलाकी श्रीमतीले रित्तिएको चामलको बोरा देखाउँदै भनिन्, ‘बेलुकालाई पनि बिहानै पकाएर राखेको । चामल सकियो भोली देखी खाने छैन ।’ 

मजदुरी गर्न नपाएको बेला माछा र घोंगी टिपेर स्थानीयलाई बेचेर चामल किनी छाक टार्ने गरेका छन् । यो ठाउँमा मुसहरहरु झण्डै ४०,४५ वर्ष अघिदेखि बस्दै आएका छन् । मुसहर भएपनि उनीहरु अहिले माझी भन्न रुचाउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *